‘सहरी विकासका सिद्धान्त र प्रयोगसिद्ध अभ्यासलाई जोडेर काम गर्नुपर्छ’ : कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ, असोज ८ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी विकासका सिद्धान्तलाई व्यवहारमा लागू गर्दै प्रयोग सिद्ध अभ्यासलाई समेत सिद्धान्तका रूपमा विकास गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुखका सल्लाहकारहरूसँग आज भएको क्षेत्रगत छलफलमा उहाँले काठमाडौँको मौलिक स्वरूप, पहिचान र आवश्यकतालाई आधार बनाएर सहरी विकासका योजना प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहरी विकासका क्रममा भौतिक संरचनासँगै मौलिक संस्कृति, सम्पदा र परम्पराको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
“सहरको मौलिक पहिचान संरक्षण गर्ने, सुन्दरता बढाउने र सबैलाई समान सेवा–सुविधा उपलब्ध गराउने गरी सुन्दर तथा मानव बसोबासअनुकूल सहर निर्माणको महाअभियानलाई साझा प्रयत्नबाट साकार बनाउनुपर्छ,” कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “भौतिक विकाससँगै मेरो पुस्ताले देख्न नपाएका अमूर्त सांस्कृतिक क्रियाकलापलाई पुनःस्थापित गरी भावी पुस्तासम्म पु¥याउनु हाम्रो दायित्व हो ।”
बैठकमा सल्लाहकार प्रा. डा. नरेश बज्राचार्यले काठमाडौँको परम्परागत सहरी संरचना व्यवस्थित रहेको उल्लेख गर्दै समयक्रममा बिग्रिएको सहरी व्यवस्थालाई पुनः व्यवस्थित गर्न सकिने बताउनुभयो । उहाँले वास्तुकलामा आधारित सहरी संरचना काठमाडौँको प्रमुख विशेषता रहेको उल्लेख गर्दै भित्री, मध्य र बाहिरी तहमा विकसित सहरका संरचना, पानी व्यवस्थापन, सहरी आचरण तथा आवश्यक पूर्वाधारलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
सल्लाहकार डा. विजयकृष्ण श्रेष्ठले सहरी व्यवस्थापनका लागि योजना मात्र बनाएर नपुग्ने भन्दै सहरीकरणको पुनर्योजना आवश्यक रहेको बताउनुभयो । दिगो सहरी विकास र उत्थानशील सहर निर्माणका लागि निर्माण भइसकेको सहरलाई पुनः व्यवस्थित गर्ने योजना आवश्यक रहेको उहाँको भनाइ थियो । काठमाडौँको भूउपयोग व्यवस्थापनका सन्दर्भमा समेत यस्तो पुनर्योजना आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, सल्लाहकार डा. रुपा मुनाकर्मीले महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमबाट प्राप्त उपलब्धि, तथ्य र तथ्यांकलाई व्यवस्थित रूपमा अभिलेखन गर्नुपर्नेमा जोड दिनुभयो । ‘बुक फ्री फ्राइडे’ कार्यक्रमका सन्दर्भमा उहाँले बालबालिकाको सिकाइ घरपरिवार तथा समुदायमा समेत हुने भएकाले त्यस्ता सिकाइ अभ्यासलाई मापनयोग्य बनाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।
सल्लाहकार प्रा. डा. नरेशमान शाक्यले काठमाडौँको जनजीवन सुरक्षित बनाउन स्थानविशेषको पानी व्यवस्थापन र वर्षा मापन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । बदलिँदो मौसम र सम्भावित बाढीजन्य जोखिमलाई ध्यानमा राखी स्थानविशेषमा वर्षाको पानीको नियमित मापन तथा निगरानी गर्न सके नागरिकको जीवन सुरक्षाका लागि पूर्वसूचना र तयारीका लागि करिब दुई घण्टासम्मको समय प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।
बैठकमा सहरी व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ, विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाल र शिक्षा महाशाखा प्रमुख सरस्वती पोख्रेलले आ-आफ्नो विभाग तथा महाशाखाअन्तर्गत कार्यान्वयन भइरहेका महत्वपूर्ण योजना तथा आगामी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
शिक्षकले फेला पारे दुई ठूला पाइलाका छाप: टी-रेक्स को पहिलो ‘ट्र्याकवे’ पत्ता लागेपछि वैज्ञानिकहरू उत्साहित
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक प्रस्तुत हुने
