भारी वर्षाको सम्भावनापछि कोशीका पूर्वाधार कार्यालय उच्च सतर्कतामा
विराटनगर, ८ असोज । भारी वर्षाको सम्भावना देखिएपछि कोशी प्रदेश सरकारले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र बनाएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ वटै जिल्लामा रहेका मातहतका कार्यालय, कर्मचारी, जनशक्ति, मेसिन तथा उपकरणलाई उच्च सतर्कतामा राख्न निर्देशन दिएको हो ।
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले सडक, पुल तथा अन्य पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरण गर्न आवश्यक संयन्त्र तयारी अवस्थामा राखिएको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले जानकारी दिनुभयो ।
मन्त्री आचार्यका अनुसार सम्भावित विपद्का समयमा उद्धार तथा राहतका काम प्रभावकारी बनाउन स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गर्न मातहतका कार्यालयलाई निर्देशन दिइएको छ ।
जोखिमयुक्त सडक, पुल तथा अन्य पूर्वाधारको नियमित निगरानी बढाउन, उपलब्ध जनशक्ति तथा मेसिन–उपकरण तयारी अवस्थामा राख्न र विपद् आइपरे तत्काल परिचालन भई मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ ।
मन्त्री आचार्यले सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोशी प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
