यस्तो छ मुलकभरीको अपडेटः बीपी र पृथ्वीराजमार्ग अवरुद्ध, आइतबारसम्म सजक रहन मौसम विज्ञान विभागको आग्रह

कााठमाडौं, ९ असोज । जल तथा मौसम विभागले भने जस्तै अहिले मुलुक भरी नै लगातार भइरहेको वर्षा रोकिएको छैन । वर्षासँगै विभिन्न स्थानहरुमा जोखिम बढेका समाचारहरु आउन थालेका छन् भने सम्भावित जोखिमलाई ध्यान दिँदै सुरक्षा सतर्कता अपनाइएका खवर पनि आउन थालेका छन् । अविरलको वर्षासँगै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा रोकिएका छन् ।

वर्षाका कारण सडकमा हुनसक्ने पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएको छ ।
नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने सवारीसाधन रोकिदाँ त्यसको प्रत्यस असर परेको छ ।
त्यसैगरी अविरल वर्षका कारण बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । जसका कारण सबै सवारीसाधनहरू धुलिखेल चोकमा रोकिएका छन् । वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशीले विभिन्न स्थानमा सडक कटानगरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । अविरल वर्षाकै कारण काभ्रेपलाञ्चोकमा कांग्रेसको क्षेत्रीय अधिवेशन स्थगित भएको समाचार आएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत प्रतिनिधिसभा क्षेत्र २ काभ्रेपलाञ्चोकले असोज ९ गतेका लागि तोकिएको मनोनयन र असोज १० का लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित भएको हो ।

यता मौसम विभागले पनि बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको भन्दै झरी पर्ने क्रम आज र भोलि पनि जारी रहने जानकारी दिएको छ । मौसमविदहरुका अनुसार आज र भोलि पनि झरी पर्ने पूर्वानुमान छ । आइतबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने सम्भावना छ ।

निरन्तरको भरीले बाढी पहिरो र डुबानको समस्या हुनसक्ने भएकाले देशभर सावधानी अपनाउन नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा– हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *