बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको अग्र्यानिक स्याउ

धनगढी, ९ असोज । हिमाली जिल्ला बाजुरामा उत्पादित अग्र्यानिक स्याउ बजार खोज्दै कैलालीको धनगढी आइपुगेको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको स्याउ स्थानीय बजारमा खपत हुन नसकेपछि बजारीकरणका लागि धनगढी ल्याइएको हो ।

स्वामीकार्तिक खापर गाउँपालिका–१ का किसान दानबहादुर रावलले आफू सहित सात जना किसानको बगैँचामा उत्पादन भएको करिब ८ टन स्याउ सङ्कलन गरेर धनगढी ल्याउनुभएको छ ।

रावलले लामो समयदेखि ‘रुपाली कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा स्याउखेती गर्दै आउनुभएको छ । उहाँका अनुसार यस वर्ष किसानका बगैँचामा स्याउ उत्पादन राम्रो भए पनि बजारको अभावमा किसानले समस्या भोगिरहेका छन् ।

“स्याउ राम्रो फलेको छ तर बिक्री नहुने अवस्था आएपछि किसानको लगानी र मिहिनेत खेर जाने जोखिम छ,” रावलले भन्नुभयो, “त्यसैले बजारको खोजी गर्दै धनगढी ल्याएका हौँ ।”

गाउँमा स्याउ सुरक्षित राख्ने उचित व्यवस्था नहुँदा बारीमै कुहिने वा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

किसानका अनुसार गाउँमै स्याउको बजार सुनिश्चित हुनुका साथै सङ्कलन केन्द्र, उचित मूल्य र शीतभण्डारको व्यवस्था भए स्थानीय किसानको आम्दानी बढाउन ठूलो राहत पुग्नेछ ।

रावलले गाउँमा बिक्री गर्न कठिन भएपछि कालीकोट, दैलेख र सुर्खेत हुँदै करिब तीन दिनको यात्रापछि रेड, रोयल र गोल्डेन जातका स्याउ धनगढी ल्याउनुभएको हो । यहाँ स्याउको मूल्य प्रतिलिटर रु. १२० निर्धारण गरिएको छ ।

रासायनिक विषादी प्रयोग नगरी उत्पादन गरिएको भनिएको उक्त स्याउ रसिलो र स्वादिलो रहेको किसानको दाबी छ । स्थानीय उत्पादन भएकाले बजारमा पाइने अन्य स्याउको तुलनामा सस्तोमा बिक्री भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *