काउलेपानीको काखमा ‘जलदेवी’, जहाँ पानीमै देवी उत्पत्ति भएको विश्वास
लमजुङ, ९ असोज । चारैतिर हरियाली जङ्गल, माथि पुरानोकोट गढी र तल ऐतिहासिक गाउँसहर दरबार । यही प्राकृतिक तथा ऐतिहासिक परिवेशमा रहेको काउलेपानी धार्मिक आस्था, स्थानीय संस्कृति र ग्रामीण पर्यटनको अनौठो संगम बनेको छ ।
बेँसीसहर नगरपालिका–३ मा रहेको जलदेवी मन्दिर, जसलाई स्थानीयवासी काउलेपानी देवी मन्दिरसमेत भन्छन्, यहाँको प्रमुख आकर्षण हो । पानीको बीचमा देवीको मूर्ति भेटिएको स्थानीय विश्वासका कारण यस मन्दिरलाई ‘जलदेवी’का रूपमा पुजिँदै आएको छ ।
स्थानीय किंवदन्तीअनुसार पानीमा लाग्ने लेउलाई स्थानीय भाषामा ‘काउले’ भनिन्छ । पानीको बीचमा देवीको मूर्ति भेटिएपछि त्यसैबाट ‘काउलेपानी’ नाम रहन गएको र पछि गाउँको नामसमेत काउलेपानी भएको स्थानीय बताउँछन् ।
काउलेपानी पर्यटन विकास समिति तथा घरबास व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङका अनुसार यस क्षेत्रको धार्मिक इतिहास सिद्धिबाबा तथा योगीको तपस्यासँग जोडिएको छ ।
स्थानीय विश्वासअनुसार १५औँ शताब्दीतिर सिद्धिबाबा तथा योगीहरू यस क्षेत्रमा बसेर तपस्या गर्ने गर्थे । सिद्धिबाबाले सपनामा पानीको बीचमा देवीको मूर्ति देखेपछि खोज्दै जाँदा त्यहाँ मूर्ति भेटिएको किंवदन्ती रहेको गुरुङले बताउनुभयो ।
त्यसपछि त्यही स्थानमा देवी स्थापना गरी पूजा गर्ने परम्परा सुरु भएको र अहिलेसम्म निरन्तर रहेको स्थानीयको विश्वास छ ।
पानीको बीचमै पूजा गर्न कठिन भएपछि देवीको मूर्ति केही बाहिर ल्याएर पूजा गर्न थालिएको र पछि सोही स्थानमा मन्दिर निर्माण गरिएको स्थानीय बताउँछन् । पानीको बीचमा देवी उत्पत्ति भएको विश्वासकै कारण उहाँलाई ‘जलदेवी’ भनिएको हो ।
काउलेपानीमा सिद्धिबाबा तथा योगीले तपस्या गरेको विश्वाससँग जोडिएका स्थलसमेत छन् । स्थानीय रूपमा ‘जोगीडाँडा’ भनिने स्थानमा सिद्धिबाबाले तपस्या गरेको चौतारा तथा ढुङ्गामा उहाँको पाइलाको छाप रहेको स्थानीयको भनाइ छ ।
यी स्थललाई स्थानीयवासीले पुरानो धार्मिक परम्पराको स्मृतिका रूपमा संरक्षण गर्दै आएका छन् । जलदेवीप्रति स्थानीयको गहिरो धार्मिक आस्था रहेको अध्यक्ष गुरुङ बताउनुहुन्छ । मन्दिरमा पूजा तथा भाकल गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण काठमाडौं, पोखरा, चितवनलगायत विभिन्न ठाउँबाट भक्तजन दर्शन र पूजाका लागि आउने गरेका छन् ।
काउलेपानीको पानीसँग धार्मिक मात्र नभई ऐतिहासिक सम्बन्धसमेत जोडिएको स्थानीय बताउँछन् । स्थानीय बुढापाकाका अनुसार तत्कालीन राजाले काउलेपानीको पानी ढुङ्गाबाट बनाइएको भूमिगत संरचना तथा सुरुङमार्फत दरबारसम्म पुर्याएर प्रयोग गर्ने गरेका थिए ।
काउलेपानीको पानी दक्षिणतर्फ मूल फुटेर उत्तरतर्फ बग्ने भएकाले स्थानीयले यसलाई ‘उत्तरगङ्गा’समेत भन्ने गर्छन् । कात्तिक, ठूला एकादशी र माघ महिनामा यहाँ स्नान गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको गुरुङ बताउनुहुन्छ ।
स्थानीय जानकार कविन्द्र गुरुङका अनुसार काउलेपानीमा परम्परादेखि गुरुङ पुजारीले जलदेवीको पूजा गर्दै आएका छन् । कात्तिक र चैते दसैँमा गाउँले सामूहिक रूपमा पूजा गर्ने तथा अन्य समयमा व्यक्तिगत रूपमा पूजा र दर्शन गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।
समयक्रममा पुरानो मन्दिर जीर्ण भएपछि पुनःनिर्माण गरिएको हो । गुरुङका अनुसार विसं २०७७/७८ मा सङ्घीय सरकारको करिब रु. २७ लाख बजेटमा मन्दिरको नयाँ संरचना निर्माण गरिएको हो ।
धार्मिक महत्वसँगै काउलेपानी ग्रामीण पर्यटनको गन्तव्यका रूपमा समेत विकास भइरहेको छ । गाउँमा अहिले १३ वटा घरबास (होमस्टे) सञ्चालनमा छन् । गुरुङ र नेवार समुदायका घरमा सञ्चालित घरबासमा करिब ९० जनासम्म पाहुना राख्न सकिने क्षमता रहेको स्थानीयले बताएका छन् ।
घरबासमा आउने पर्यटकले स्थानीय खानपान, संस्कृति र रहनसहनको अनुभव लिनुका साथै गाउँसहर दरबार, पुरानोकोट गढीलगायत ऐतिहासिक तथा धार्मिक स्थलको अवलोकन गर्ने गरेका छन् ।
प्राकृतिक सौन्दर्य, घरबास, ऐतिहासिक सम्पदा र पानीको बीचमा देवी उत्पत्ति भएको स्थानीय विश्वासले काउलेपानीलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशिष्ट पहिचान दिएको छ ।
पुस्तौँदेखि चल्दै आएको जलदेवीको पूजा परम्परा स्थानीय आस्था र संस्कृतिसँग जोडिएर आज पनि निरन्तर छ । यही धार्मिक विश्वास, प्राकृतिक सुन्दरता र स्थानीय जीवनशैली काउलेपानी पुग्ने पर्यटकका लागि मुख्य आकर्षण बनेका छन् ।
