पहिरोले बिपी राजमार्ग अवरुद्ध, राति सवारीमा रोक
काभ्रेपलाञ्चोक, ९ असोज । अविरल वर्षासँगै पहिरो खसेपछि बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ४ः३० बजे रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण सडकमा सवारी आवागमन प्रभावित भएको छ । लगातारको वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा सवारीसाधनलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागको भारी वर्षासम्बन्धी पूर्वानुमानलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार वर्षा, बाढी तथा पहिरोको अवस्था मूल्याङ्कन गरी आवश्यक परे दिउँसोको समयमा समेत सवारी सञ्चालनमा रोक लगाउन सकिनेछ ।
वर्षा तथा बाढीपहिरोको अवस्थाका आधारमा दिउँसो पनि सवारी रोक्नुपर्ने देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिने जनाइएको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका लागि छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटसँग समेत समन्वय गरिने भएको छ ।
बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित जोखिमबारे सचेत गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने र स्थानीय सञ्चारमाध्यममार्फत जानकारी गराउने निर्णय गरेको छ । प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिउँसो यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
