पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध
सङ्खुवासभा, ८ असोज । लगातारको वर्षासँगै पहिरो खसेपछि उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ ।
भोटखोला गाउँपालिका–३ हुङहुङमा पहिरो खसेपछि आज बिहानदेखि सडकमा सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द भएको उत्तर–दक्षिण सडक आयोजना कार्यालयले जनाएको छ ।
आयोजना कार्यालयका प्रमुख एवं इन्जिनियर रामबहादुर गुरुङका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन आवश्यक तयारी भइरहेको छ । तर, माथिल्लो क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।
हुङहुङमा पहिरो खसेपछि भोटखोलाबाट मकालु तथा सदरमुकाम खाँदबारीतर्फ आउने–जाने यातायात सेवा प्रभावित भएको छ ।
सडकखण्डका विभिन्न स्थानमा समेत ठूलो पहिरो खसेकाले तत्काल सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको इन्जिनियर गुरुङले बताउनुभयो ।
पहिरोका कारण भोटखोलाबाट खाँदबारी, मकालु र चिचिलातर्फ जाने तथा ती क्षेत्रबाट भोटखोलातर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
