हुम्लामा २४ घण्टामा ११४.८ मिलिमिटर वर्षा
पश्चिमतर्फ सरेको वर्षा गराउने प्रणाली
काठमाडौँ, असोज १० । पश्चिमतर्फ सरेको वर्षा गराउने प्रणालीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा पछिल्लो २४ घण्टामा ११४ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ ।
मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतका कार्यालय प्रमुख डा. इन्दिरा कँडेलका अनुसार शुक्रबार दिउँसो १ बजेदेखि शनिबार दिउँसो १ बजेसम्मको २४ घण्टाको अवधिमा सिमकोटमा उक्त परिमाणमा वर्षा भएको हो । उहाँका अनुसार सिमकोटमा सन् १९७८ पछिको यो ठूलो वर्षा हो ।
यसअघि सिमकोटमा सन् २०२१ मा ११० मिलिमिटर र सन् २०१५ मा ९८ मिलिमिटर वर्षा मापन गरिएको थियो । कार्यालय प्रमुख डा. कँडेलले सिमकोटको अभिलेखअनुसार पछिल्लो वर्षा असामान्य र अत्यधिक भएको बताउनुभयो ।
समुद्री सतहदेखि दुई हजार ९९३ मिटर उचाइमा रहेको सिमकोटमा हालसम्म १४ हजार ११३ दिनको वर्षा मापन गरिएको उहाँले जानकारी दिनुभयो । तीमध्ये एक मिलिमिटरभन्दा बढी वर्षा भएका दिन तीन हजार ७९४ रहेका छन् ।
जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार सिमकोटमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको दिन एक, ७५ मिलिमिटरभन्दा बढी वर्षा भएका दिन छ तथा ५० मिलिमिटरभन्दा बढी वर्षा भएका दिन १२ रहेका छन् ।
यस्तै, सोही २४ घण्टाको अवधिमा सुर्खेतको वीरेन्द्रनगरमा ७५ दशमलव ५ मिलिमिटर वर्षा मापन गरिएको डा. कँडेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो वर्षाका कारण कर्णालीका विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।
भारी वर्षाका कारण हुम्ला, जाजरकोट, कालीकोट, मुगु, जुम्ला र सल्यानका विभिन्न स्थानमा पहिरो गएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिएका छन् । भारी वर्षाका कारण सडक तथा यातायातलगायत स्थानीय पूर्वाधारमा समेत असर परेको जनाइएको छ ।
