बाढी-पहिरोले गुल्मीमा ११ परिवार विस्थापित, तीन पशुचौपाया मरे
गुल्मी, १० असोज । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन्। विभिन्न स्थानमा गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन्।
बाढी तथा पहिरोको जोखिममा परेका र घरको छानोमा क्षति पुगेका परिवारलाई प्रहरी तथा स्थानीयवासीको सहयोगमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।
रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित लामाचौपारी क्षेत्रमा कालीगण्डकी नदीको बहाव बढेपछि नदी किनारमा पसल सञ्चालन गरी बस्दै आएका सात परिवार जोखिममा परेका थिए। उनीहरूलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आफन्तको घरमा स्थानान्तरण गरिएको छ।
रेसुङ्गा नगरपालिका–४ सेउघामा घरमाथिबाट पहिरो खसेपछि दुई परिवार विस्थापित भएका छन्। तेजबहादुर खत्रीका चार जना र एमकला खत्रीका दुई जनासहित छ जनालाई उद्धार गरी नजिकैको गोठमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित ठुम्कामा हावाहुरी र वर्षाका कारण घरको टिनको छानो उडेपछि ३७ वर्षीय सन्तोष चुदराको परिवार विस्थापित भएको छ।
चन्द्रकोट गाउँपालिका–४ रेमीमा खेमबहादुर कार्कीको एकतले कच्ची गोठ भत्किँदा बाँधिएका दुई पाडापाडी पुरिएर मरेका छन्। यस्तै, मुसिकोट नगरपालिका–१ पखेरामा सुशीला विकको गोठ भत्किँदा एउटा माउ बाख्रा पुरिएर मरेको प्रहरीले जनाएको छ।
कालीगण्डकीको बहाव बढेपछि रिडीमा सतर्कता
लगातारको वर्षासँगै कालीगण्डकी नदीको पानीको सतह बढेपछि रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजारस्थित तटीय क्षेत्रमा उच्च जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी सहायक निरीक्षक मनबहादुर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली उद्धार तथा स्थानान्तरणमा खटिएको छ।
नदीमा पानीको सतह एकाएक बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार टोली परिचालन गरी निगरानी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
