नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीमा पानीको बहाव बढेपछि नदीले सतर्कता तह पार

काठमाडौँ, असोज १० । निरन्तरको वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेपछि नदीले सतर्कता तह पार गरेको छ ।

नारायणी बेसिन कार्यालय, चितवनका अनुसार नदीमा पानीको सतह हाल आठ दशमलव ३० मिटर पुगेको छ । बिहीबारदेखि परेको वर्षाका कारण नदीको बहाव निरन्तर बढिरहेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख सुमित अधिकारीका अनुसार नारायणी नदीमा सात दशमलव ३० मिटरलाई सतर्कता तह मानिन्छ । नदीको बहाव बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

नदीको बहाव नौ मिटर पुगेपछि खतरा तह मानिने भएकाले थप वर्षा भएमा पानीको सतह जोखिम तहसम्म पुग्नसक्ने प्रमुख अधिकारीले बताउनुभयो । उहाँले नदीले सतर्कता तह पार गरिसके पनि अहिलेसम्म नदी किनारका बस्तीमा पानी पसिनसकेको जानकारी दिनुभयो ।

“अब फेरि वर्षा भएमा ठूलो बाढी आउनसक्ने सम्भावना छ,” उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार सम्भावित बाढी तथा डुबानबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायलाई तत्काल उद्धारका लागि तयारी अवस्थामा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जोखिमको अवस्थाबारे निरन्तर सूचना प्रवाह गर्नुका साथै सम्भावित विपद्को पूर्वतयारीका काम अघि बढाइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *