बाढी र पहिरोले बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध
बागलुङ, १० असोज । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरुद्ध भएका छन्।
कालीगण्डकी करिडोरको बागलुङ खण्ड जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा पहिरो खसेपछि अवरुद्ध भएको हो। पहिरोले सडक पूर्णरूपमा ठप्प बनेको प्रहरीले जनाएको छ।
त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिवाङ–निसीखोला सडकखण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो।
दुवै सडक खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना र कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
लगातार पानी परिरहेकाले पहिरो पन्छाउने तथा सडक खुलाउने काममा समस्या भइरहेको प्रहरी उपरीक्षक प्रसाईंले बताउनुभयो। उहाँले वर्षाका कारण थप पहिरो र बाढीको जोखिम रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गर्नुभएको छ।
