बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु, बर्दियामा तीन घरमा क्षति

 

काठमाडौं, ११ असोज । असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी बागमती र लुम्बिनी प्रदेशमा दुई–दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो । विपद्मा परी दुई जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बाढीपहिरो प्रभावित विभिन्न स्थानबाट हालसम्म ४०७ जनाको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार वर्षाका कारण ठूलो क्षति हुन नदिन जिल्ला प्रशासन र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
प्रहरीलाई पूर्वतयारी अवस्थामा राखिनुका साथै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन गाउँगाउँमा माइकिङसमेत गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जनकारी दिनुभयो ।

दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण बाँसगढी नगरपालिका–८ रेशम टोलका जलबहादुर चौधरीको चारकोठे इँटा, माटोको कच्ची घरको दक्षिणतर्फको भित्ता भत्किएको छ । भित्ता भत्किँदा घरसँगै जोडिएको बङ्गुरको खोर च्यापिएर खोरमा रहेको बङ्गुर मरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, मधुवन नगरपालिका–५ का खिरबहादुर गुरुङको चारकोठे कच्ची घरको दक्षिणतर्फको एउटा कोठाको भित्ता भत्किएको छ भने बारबर्दिया नगरपालिका–९ खैरेनीमा दुईकोठे कच्ची घरको पश्चिम र दक्षिणतर्फको भित्ता भत्किएको छ । उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

निरन्तर वर्षाका कारण स्थानीय कुला तथा नालामा पानीको सतह बढेपछि गुलरिया नगरपालिका–१ छेदापुर चोकमा पाँचवटा कच्ची घरमा पानी पसेको छ ।

पानी घरभित्र पसेको जानकारीपछि प्रहरी र वडाका जनप्रतिनिधिको सहयोगमा प्रभावित परिवारलाई उद्धार गरेर छेदापुरस्थित स्वामी प्रमानन्द प्राथमिक विद्यालयमा बस्ने व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

त्यसैगरी, बढैयाताल गाउँपालिका–१ दैलेखी टोलकी गोमा विकको कच्ची घरमा पनि पानी पसेको छ । वर्षाका कारण प्रभावित परिवारलाई घरका सामानसहित सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

बर्दियामा कर्णाली, गेरुवा र भादा नदीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दा डुबानको जोखिममा पर्ने गरेका छन् । नदीको जलसतह खतराको चिह्न पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क गराउन साइरन बजाउने गरिएको छ ।

कर्णाली नदीको चिसापानी जलसतह मापन केन्द्रमा १० मिटर आठ सेन्टिमिटर जलसतह पुगेपछि खतरा तह पार गर्ने जनाइएको छ । हाल उक्त केन्द्रमा नदीको जलसतह खतरा तहभन्दा तल रहेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । वर्षा निरन्तर भइरहेकाले नदीको जलसतह भने बढिरहेको उहाँले बताउनुभयो । त्यसैगरी, बबई नदीको जलसतह पनि खतरा तहभन्दा तल रहेको चेपाङस्थित जलसतह मापन केन्द्रका गेज रिडर मोहनलाल जैसीले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *