सुरुङभित्रको उद्धार भोटेकोशी विपदमा सबैभन्दा जटिल अध्याय

जलविद्युत् आयोजनाका लेदो, माटो र चट्टानले पुरिएका सुरुङभित्र गरिएको उद्धार कार्य सबैभन्दा जटिल र चुनौतीपूर्ण

काठमाडौँ, ११ असोजः रसुवाको भोटेकोशी बाढीपछिको खोज तथा उद्धार अभियानमा जलविद्युत् आयोजनाका लेदो, माटो र चट्टानले पुरिएका सुरुङभित्र गरिएको उद्धार कार्य सबैभन्दा जटिल र चुनौतीपूर्ण रहेको नेपाली सेनाले जनाएको छ ।

सेनाले उपलब्ध गराएको विवरणअनुसार प्रतिकूल मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानका बीच उद्धार अभियान सञ्चालन गरिएको थियो । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भोटेकोशी बाढीले विपद् प्रतिकार्यलाई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने सन्देश दिएको बताउनुभयो ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि नेपाली सेनाले तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत क्षेत्रमा तैनाथ सैनिक युनिट परिचालन गरिएको थियो । अभियानमा नौ हजार तीन सयभन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको तथा क्विक रियाक्सन टिम र आपत्कालीन मेडिकल टिमसहित चारवटा हेलिकप्टर तत्काल परिचालन गरिएको सेनाले जनाएको छ ।

सडक सञ्जाल अवरुद्ध भएका कारण हवाई उद्धारलाई प्राथमिकता दिइएको थियो । एमआई–१७ लगायत सातवटा सैनिक हेलिकप्टर तथा निजी क्षेत्रका हवाई साधन परिचालन गरी त्रिशूली र धुन्चेमा आधार स्थापना गरेर हवाई उद्धार सञ्चालन गरिएको थियो । दैनिक १५ देखि २२ वटासम्म हेलिकप्टर उडानमार्फत एक हजार छ सयभन्दा बढी उडान गरिएको र चार हजार २४२ जनाको उद्धार गरिएको सेनाले जनाएको छ । उद्धार गरिएकामध्ये तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक रहेका छन् ।

प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, रासन तथा अक्सिजन सिलिन्डरसमेत हवाई तथा ड्रोनमार्फत पुर्याइएको थियो । टनेल क्षेत्रमा आवश्यक उपकरण पुर्याउन स्लिङ अपरेसनसमेत सञ्चालन गरिएको थियो । रसुवागढीदेखि पूर्वी नवलपरासीसम्मका प्रभावित क्षेत्रमा नदी किनार, जङ्गल, डाँडाकाँडा तथा बाढी र पहिरोबाट प्रभावित बस्तीमा पैदल गस्तीमार्फत खोज तथा उद्धार जारी राखिएको थियो । थर्मल ड्रोन तथा आधुनिक उपकरणको प्रयोग गरी सम्भावित स्थानको पहिचान र खोजीसमेत गरिएको सेनाले जनाएको छ ।

जमिनी उत्खनन तथा खोजीका क्रममा फेला परेका एक हजार ४५१ शवको व्यवस्थापनमा सेनाले सहयोग गरेको छ । स्थानीय प्रशासन, स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललगायत निकायसँगको समन्वयमा खोज तथा उद्धारका कार्य सञ्चालन गरिएको थियो ।

सेनाका अनुसार जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार अभियान भने सबैभन्दा चुनौतीपूर्ण थियो । विभिन्न आयोजनाका सुरुङ क्षेत्रमा गरिएको निरन्तर प्रयासबाट सात जनालाई जीवितै उद्धार गरिएको थियो । त्रिशूली–३ ‘ए’ आयोजनामा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर तथा नियन्त्रित विस्फोटको प्रयोग गरी क्राउन हेड खोलेर अक्सिजन पम्प गरिएको थियो । त्यस क्रममा भदौ १९ गते सुरुङभित्र फसेका दुई जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ ।

त्यसैगरी माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट सुरुङमा २२५ मिटर गहिराइसम्म प्रवेश गरी रबर बोट तथा थर्मल क्यामेराको प्रयोगबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको थियो । उक्त क्षेत्रमा ३७ वटा शवसमेत सङ्कलन गरिएको थियो । चिलिमे सुरुङमा करिब एक हजार ५० मिटर वैकल्पिक बाटो निर्माण गरी ब्रेकथ्रुप गरेपछि पाँचवटा शव तथा मानव अङ्ग सङ्कलन गरिएको सेनाले जनाएको छ । रसुवागढी तथा त्रिशूली–३ ‘बी’ आयोजनामा पनि उत्खनन तथा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो ।

खोज तथा उद्धारका क्रममा छिमेकी तथा अन्य मित्र राष्ट्रका जनशक्ति र प्रविधिसमेत नेपाली सेनासँग संयुक्त रूपमा परिचालन भएका थिए । सेनाले विशेषगरी साँघुरो र जोखिमपूर्ण सुरुङभित्र करिब १७० मिटर गहिराइसम्म प्रवेश गरी लेदो, चट्टान, सीमित स्थान र थप जोखिमका बीच जीवित उद्धार गरिएको जनाएको छ ।

बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई समेत प्राथमिकता दिइएको सेनाले जनाएको छ । त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गरी चार हजार तीन जनालाई प्रत्यक्ष चिकित्सा सेवा प्रदान गरिएको थियो । सुरुङ तथा भौगोलिक रूपमा विकट क्षेत्रमा गम्भीर अवस्थामा फेला परेका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित छाउनीको वीरेन्द्र अस्पताल पुर्याई उपचार गरिएको थियो । विस्थापितका लागि स्थापना गरिएका अस्थायी आवास तथा होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै स्थानीय तहसँगको समन्वयमा निसङ्क्रमण अभियानसमेत सञ्चालन गरिएको थियो ।

बाढीबाट प्रभावित जनजीवन सामान्य बनाउन पूर्वाधार पुनःस्थापनामा पनि सेनाले काम गरेको जनाएको छ । नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लामो र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासपछि जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । स्याफ्रुबेँसी–चिलिमे तथा इन्द्रेणीघाटमा तुइन र काठका अस्थायी फट्के निर्माण गरिएको तथा बेत्रावतीमा बेलीब्रिज निर्माणका लागि आवश्यक पहुँचमार्ग निर्माणको काम भइरहेको सेनाले जनाएको छ ।

सेनाले आफ्ना सैनिक तथा तिनका परिवारसमेत बाढीबाट प्रभावित भएको अवस्थामा पनि नागरिकको जीवनरक्षालाई प्राथमिकता दिई खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ । सेनाका अनुसार भोटेकोशी बाढीको प्रतिकार्यले विपद् व्यवस्थापनमा उच्च जोखिम, अनिश्चित परिस्थिति तथा विभिन्न निकायबीचको समन्वयलाई केन्द्रमा राखेर संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता स्पष्ट पारेको छ ।

सैनिक प्रवक्ता बस्नेतले सङ्कटको कठिन अवस्थामा अग्रपङ्क्तिमा खटिएर सेनाले गरेको काम भविष्यका विपद् प्रतिकार्यका लागि महत्वपूर्ण अनुभव भएको बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय तह र स्थानीय समुदायबीच भएको समन्वय तथा सहकार्यले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *