करेन्ट लागेर चितुवाको मृत्यु

काठमाडौँ, असोज ११ ।  नारायणगढ (चितवन), ११ असोजः चितवनको भरतपुर महानगरपालिका १५ स्थित रामपुरमा विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेला परेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार करिब १० महिनाको पोथी चितुवा रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा मृत फेला परेको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्र, सौराहाका पशु चिकित्सक तथा प्राविधिकको टोलीले चितुवाको शवको अध्ययन तथा पोस्टमार्टम गरेको थियो । केन्द्रका पशु चिकित्सक डा अमिर सडौलाका अनुसार पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।

गत असार–साउनमा रामपुर बस्ती क्षेत्रमा बच्चासहित माउ चितुवा देखिएपछि डिभिजन वन कार्यालय र जैविक विविधता संरक्षण केन्द्रले चितुवा नियन्त्रणका लागि सक्रियता बढाएका थिए । सो क्रममा दुईवटा बच्चामध्ये एउटा भाले चितुवालाई रामपुर नजिकैको झाडीबाट नियन्त्रणमा लिएर संरक्षण केन्द्रमा राखिएको छ ।

गत असारदेखि विशेषगरी भरतपुर महानगरपालिका १५ र ५ नम्बर वडामा चितुवाको चहलपहल बढेको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय आसपासका झाडी तथा पोल्ट्री फार्म क्षेत्रमा चितुवा देखिन थालेपछि वन कार्यालयले नियन्त्रणका लागि विभिन्न उपाय अपनाउँदै आएको थियो ।

सूचना अधिकारी पौडेलका अनुसार चितुवा नियन्त्रणका लागि दिउँसो ड्रोनबाट निगरानी गर्ने, सिसी क्यामेरा जडान गर्ने, खोर (केज) ट्रयापिङ तथा खुट्टा ट्रयाप (लेग ट्रयाप) प्रयोग गर्ने गरिएको छ । यसै क्रममा एउटा बच्चा नियन्त्रणमा लिएर संरक्षण केन्द्रमा राखिएको हो ।

माउ चितुवा भने अर्को बच्चासहित बस्ती आसपासमा देखिँदै आएको थियो । अहिले मृत फेला परेको चितुवा सोही समूहको बच्चा हुनसक्ने सम्भावना रहेको डा सडौलाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *