बाँकेमा हुरीले धानबालीमा क्षति
धानबालीमा क्षति
काठमाडौँ, असोज ११ । लगातारको वर्षासँगै शनिबार आएको हुरीले बाँकेका विभिन्न क्षेत्रमा लगाइएको धानबालीमा क्षति पुर्याएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार हुरीका कारण अधिकांश खेतमा धान ढलेको छ। हुरीले धानबाली ढल्दा उत्पादनमा समेत असर पर्ने किसानको भनाइ छ।
त्यस्तै, डुडुवा गाउँपालिका–५ का किसान सुजन थापाको खेतमा लगाइएको धानबालीसमेत हुरीका कारण ढलेको छ। जिल्लाका अन्य क्षेत्रमा पनि हुरीले धानबालीमा क्षति पुर्याएको हुनसक्ने जनाइएको छ।
कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जिल्लामा भएको धानबालीको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिनुभयो।
उहाँका अनुसार यस वर्ष बाँकेमा ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। क्षतिको विवरण सङ्कलन भएपछि हुरीबाट भएको धानबालीको क्षतिको यकिन अवस्था आउने केन्द्रले जनाएको छ।
