‘हिमालयन गोल्ड’ भारतमा प्रदर्शन हुँदै

चलचित्रको भारत प्रदर्शनबारे एए फिल्म्सका प्रमुख अनिल थडानीले ‘हिमालयन गोल्ड’ भारतीय दर्शकले अनुभव गर्नुपर्ने उत्कृष्ट कथावस्तु भएको बताएका छन्। प्रतिभाशाली नेपाली टोलीसँग जोडिन पाउनु आफ्ना लागि गर्वको विषय भएको उल्लेख गर्दै उनले भारतीय दर्शकले भाषाको सीमाभन्दा माथि उठेर चलचित्रलाई माया गर्ने विश्वास व्यक्त गरेका छन्।

काठमाडौँ — धीरज राजवंशीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ भारतका हलमा प्रदर्शन हुने भएको छ। चलचित्र आगामी मंसिर ४ गते अर्थात् नोभेम्बर २० मा भारतमा रिलिज हुने भएको हो।

भारतमा चलचित्र प्रदर्शनका लागि चर्चित वितरक कम्पनी ‘एए फिल्म्स’ सँग सम्झौता भएको निर्माण पक्षले जनाएको छ। अनिल थडानी नेतृत्वको एए फिल्म्सले ‘बाहुबली’, ‘पुष्पा’, ‘आरआरआर’, ‘केजिएफ : च्याप्टर २’, ‘कान्तारा’, ‘एनिमल’, ‘कबीर सिंह’ लगायत दुई सयभन्दा बढी भारतीय चलचित्र वितरण गरिसकेको छ।

चलचित्रको भारत प्रदर्शनबारे एए फिल्म्सका प्रमुख अनिल थडानीले ‘हिमालयन गोल्ड’ भारतीय दर्शकले अनुभव गर्नुपर्ने उत्कृष्ट कथावस्तु भएको बताएका छन्। प्रतिभाशाली नेपाली टोलीसँग जोडिन पाउनु आफ्ना लागि गर्वको विषय भएको उल्लेख गर्दै उनले भारतीय दर्शकले भाषाको सीमाभन्दा माथि उठेर चलचित्रलाई माया गर्ने विश्वास व्यक्त गरेका छन्।

भारतमा चलचित्र प्रदर्शनको अवसर पाएकोमा निर्देशक राजवंशीले पनि खुसी व्यक्त गरेका छन्। उनले यो आफ्नो व्यक्तिगत उपलब्धिमात्र नभई समग्र नेपाली चलचित्र उद्योगकै लागि खुसीको विषय भएको बताए।

‘हिमालयन गोल्ड’को सम्भावनामाथि विश्वास गरेर भारतभर प्रदर्शनको अवसर दिएकोमा अनिल थडानी र एए फिल्म्सप्रति आफू आभारी रहेको निर्देशक राजवंशीको भनाइ छ।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनिल थापा, राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्यको प्रमुख भूमिका रहेको छ। चलचित्र अभिनेता सुनिल थापाको अन्तिम नेपाली चलचित्रसमेत हो।

चलचित्रले यार्सागुम्बा सङ्कलनका लागि हिमाली क्षेत्रमा पुगेकी एक युवतीको लुटेराहरूसँग जम्काभेट भएपछि आफ्नो ज्यान जोगाउन गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *