आइसिसीको मान्यताको पर्खाइमा क्यान र एनपिएलका टोली
काठमाडौँ, २२ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान) तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को तयारीमा जुटेको छ। एनपिएलको मिति नजिकिँदै गर्दा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशा पनि राखेको छ।
क्यानका सचिव पारस खड्काका अनुसार आइसिसीले माग गरेका आवश्यक कागजात पठाइसकिएको छ र अब औपचारिक निर्णयको पर्खाइ छ।
“राम्रा खेलाडी ल्याउन टोलीहरू कोसिस गरिरहनुभएको छ। तर अहिले खेलाडीलाई कन्ट्याक्ट गरेर राखेका अवस्थामा अफिसियल स्याङ्सन (आइसिसी मान्यता) आएपछि मात्र उहाँहरूलाई अनाउन्समेन्ट गर्ने कुरा आउँछ,” खड्काले रासससँग भने, “धेरैजसो टिम यही प्रतीक्षामा हुनुहुन्छ। आशा गरौँ, चाँडोभन्दा चाँडो सकारात्मक खबर आओस्।”
उनका अनुसार आइसिसीको स्वीकृति आएपछि एनपिएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुनेछ। यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढाउन सहयोग पुग्ने उनले बताए। निर्णयमा ढिलाइ हुँदा विदेशी खेलाडीको अन्तिम टुङ्गो लगाउन केही समस्या भइरहेको टोलीहरूको भनाइ छ।
एनपिएल टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले पनि आइसिसीबाट छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गरे। “आशा छ आइसिसीले छिटो एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिनेछ। त्यसो हुँदा हामीलाई आवश्यक थप विदेशी स्टार भित्र्याउन सहज हुनेछ,” उनले भने।
यसपटक एनपिएलमा डेभिड वार्नर, मोइन अली, सिकन्दर राजा, इफ्तिखार अहमदलगायत अन्तर्राष्ट्रियस्तरका चर्चित खेलाडी जोडिँदै छन्। ठूला विदेशी खेलाडीको सहभागिताले एनपिएलको चर्चा नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै बढ्ने क्यानको अपेक्षा छ।
सचिव खड्काले एनपिएललाई खेलकुदसँगै पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा पनि विकास गर्न सकिने बताए। उनका अनुसार यसअघि एनपिएलमा सहभागी भएका विदेशी खेलाडी, अम्पायर र कमेन्टेटरले नेपालबारे सकारात्मक अनुभव लिएर फर्किएका थिए।
“इन्टरनेसनल खेलाडी लगभग ५५–६० जना, अम्पायर, कमेन्टेटर गर्दा ६०–७० जना विभिन्न देशका नागरिक यसअघि पनि आएर एकदमै प्लेजेन्ट मेमोरिज लिएर फर्किनुभएको छ,” सचिव खड्काले भने।
“स्पोर्ट्स टुरिजमको जुन एउटा कन्सेप्ट छ, त्यसलाई नेपाल प्रिमियर लिग र नेपाल क्रिकेटले सुरुदेखि नै प्रवर्द्धन गरिरहेकै छ। विश्वस्तरीय खेलाडी जब आउनुहुन्छ, उहाँहरूले नेपालका बारेमा अन्तर्राष्ट्रिय कम्युनिटीमा चर्चा गर्नुहुनेछ। त्यसले देशको अर्थतन्त्र र पर्यटनमा सहयोग गर्छ,” उनले थपे।
उनका अनुसार एनपिएलमार्फत नेपाल सुरक्षित रहेको र विभिन्न चुनौतीपछि पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश दिन सकिन्छ। “इन्टरनेसनल प्लेयर्सहरू आएर नेपाल इज सेफ, नेपाल इज सेक्युर भन्ने मेसेज हामी दिन सक्छौँ। नेपाल फेरि तयार भयो र हामी अगाडि बढ्नेछौँ भन्ने सन्देश पनि यो प्रतियोगिताबाट दिने प्रयास गर्नेछौँ,” खड्काले भने।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा सुरु हुँदैछ र फाइनल मङ्सिर ५ गते हुनेछ। यसपटक पनि आठ वटा टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ। उद्घाटन खेलमा कात्तिक ९ गते गत संस्करणका विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ।
