भारतमा प्रदर्शनअघि २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

नयाँदिल्ली, २३ असाेज । भारतमा मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न मागसहित शनिबार हुन लागेको प्रदर्शनअघि राजधानी नयाँदिल्लीमा २० हजारभन्दा बढी प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ।

भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो। आयोगले दोहोरो नाम भएका तथा अयोग्य मतदातालाई सूचीबाट हटाउन प्रक्रिया सञ्चालन गरिएको बताएको छ। तर विपक्षी दल र आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन्।

विरोध प्रदर्शनमा प्रमुख विपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेसका नेता राहुल गान्धीसहित अन्य नेताहरू सहभागी हुँदै आएका छन्। यसै साता प्रदर्शनका क्रममा गान्धीलाई केही समय हिरासतमा समेत लिइएको थियो।

संसद्मा विपक्षी दलका नेता गान्धीसहित अन्य नेताहरूले शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरी निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारविरुद्ध उजुरी गर्ने अपेक्षा गरिएको छ। निर्वाचन सञ्चालनको जिम्मेवारी पाएको संवैधानिक निकाय आयोगले भने आफूमाथि लागेका आरोप अस्वीकार गरेको छ।

जन्तरमन्तर क्षेत्रमा आवागमनमा प्रतिबन्ध

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार शनिबारको प्रदर्शनलाई ध्यानमा राख्दै नयाँदिल्लीमा २० हजारभन्दा बढी प्रहरी तथा अर्धसैनिक अधिकारी परिचालन गरिएको छ।

एएफपीका पत्रकारले सहरका प्रमुख सडकमा पहेँलो धातुका अवरोधक राखिएको र सरकारले प्रदर्शनका लागि तोकेको जन्तरमन्तर क्षेत्रमा आवागमन प्रतिबन्धित गरिएको देखेका छन्। प्रहरीले उक्त स्थलमा र्‍याली गर्न अनुमति दिएको छैन।

अनलाइनबाट सुरु भएको व्यङ्ग्यात्मक राजनीतिक अभियान ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले शनिबार राजधानीमा ‘जन परिचालन’ कार्यक्रम आयोजना गर्दै जन्तरमन्तरसम्म मार्च गर्न आह्वान गरेको छ। उक्त समूहले यसअघि जन्तरमन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षामन्त्रीलाई पदबाट हटाउने अभियानमा सफलता पाएको थियो।

सिजेपीले आफ्ना स्वयंसेवक तथा समर्थकलाई प्रदर्शनअघि नै प्रहरीले हिरासतमा लिएको आरोप लगाएको छ। यस विषयमा प्रहरीले प्रतिक्रिया दिएको छैन।

सिजेपीका कार्यकर्ता सौरभ दासले सामाजिक सञ्जालमार्फत दिल्ली प्रहरी भाजपाको निजी सुरक्षादलजस्तै बनेको आरोप लगाउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *