घटस्थापनामा शंखमुलको शंकर तीर्थमा स्नान गर्ने मौलिक परम्परा
काठमाडौँ, असोज २५ । काठमाडौं उपत्यकामा मोहनी (दसैँ) पर्वको पहिलो दिन घटस्थापनाका अवसरमा शंखमुलस्थित शंकर तीर्थमा स्नान गरी पूजा आराधना गर्ने परम्परा छ। बागमती र मणिरोहिणी नदीको संगमस्थल मानिने यस तीर्थमा बिहान सबेरै स्नान गरी नजिकै रहेको सिकबहीस्थित चामुन्डा महालक्ष्मीको पीठमा पूजा गर्ने धार्मिक मान्यता रहेको छ।
ललितपुर महानगरपालिका–९ मा पर्ने शंकर तीर्थमा घटस्थापनाका दिन भक्तजनहरू स्नान तथा पूजाआजाका लागि पुग्ने गर्छन्। काठमाडौंका स्थानीयवासीहरू परम्परागत रूपमा बिहानै बाजागाजासहित तीर्थयात्रामा निस्कने गर्दथे। आकाशमा तारा देखिएकै बेला तीर्थमा पुगेर स्नान गर्नुपर्ने मान्यता पनि रहिआएको छ।
काठमाडौं उपत्यकामा नवरात्रका नौ दिन विभिन्न तीर्थस्थलमा स्नान गरी पूजा आराधना गर्ने चलन छ। नदी तथा खोलाहरू एकआपसमा मिसिने दोभानलाई पवित्र तीर्थस्थलका रूपमा लिने परम्पराअनुसार शंखमुलको शंकर तीर्थ पनि धार्मिक महत्त्वको स्थल मानिन्छ। यहाँ स्नान गरी जाई फूल चढाएर पूजा गर्दा विभिन्न उपद्रव शान्त हुने जनविश्वास रहेको छ।
धार्मिक मान्यताअनुसार शंखपाल नागराजको बासस्थान रहेकाले यस क्षेत्रको नाम शंखमुल रहन गएको हो। हिमवत्खण्ड ग्रन्थमा समेत शंखमुललाई गंगाभन्दा सय गुणा पवित्र तीर्थस्थलका रूपमा वर्णन गरिएको उल्लेख छ।
समयक्रमसँगै शंखमुल क्षेत्रको प्राकृतिक स्वरूपमा परिवर्तन आएको छ। बागमती नदी साँघुरिँदै गएको र मणिरोहिणी नदी खुला रूपमा देखिन छाडेपछि यहाँको पुरानो दोभानसमेत अहिले पहिलेजस्तो देखिँदैन। हाल तीर्थमा आउने भक्तजनले स्नानका लागि पानीको ट्यांकी प्रयोग गर्ने गरेका छन्।
शंखमुल क्षेत्रलाई विभिन्न स्थानीय निकायको सहकार्यमा सौन्दर्यकरण गरी पार्कसमेत निर्माण गरिएको छ। तर, संस्कृतिविद्हरूले यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई संरक्षण गर्दै मौलिक परम्पराको निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिँदै आएका छन्।
मोहनी पर्वका अवसरमा विभिन्न तीर्थस्थलमा स्नान गर्ने परम्परा काठमाडौंको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको छ। यद्यपि, पछिल्लो समय यस्ता परम्परा क्रमशः लोप हुँदै जान थालेकाले यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण आवश्यक देखिन्छ।
