घटस्थापनादेखि दुई लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
काठमाडौं, २९ असोज । बडादसैँ मनाउन घटस्थापनादेखि हालसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन्। उपत्यकाबाट बाहिरिने यात्रुको चाप पछिल्ला दिनमा बढ्दै गएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रु बाहिरिएका हुन्।
दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि बसपार्क र प्रमुख नाकामा यात्रुको चाप बढेको हो।
उपत्यका छाड्ने यात्रुमध्ये एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष छन्। घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा पनि चाप बढिरहेको एसएसपी काफ्लेले जानकारी दिए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यात्रुको चाप बढेपछि ती नाकामा सवारी आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष निगरानी बढाएको छ।
चाडपर्वका बेला यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले बताए।
“यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ। हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो,” उनले भने।
उनले लामो दूरीको यात्रा गर्ने यात्रुलाई सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयबारे विशेष ध्यान दिन आग्रह गरे। यात्रु तथा चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।
यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्गलगायत प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ।
