आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ।
मन्त्रालयले यसअघि जारी ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ अन्तर्गतका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका ल्याइएको जनाएको छ। मन्त्रालयले बिहीबार प्रेस नोट जारी गर्दै यसबारे जानकारी दिएको हो।
नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०–१० वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकताअनुसार सेवा प्रवाह गर्नु यसको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
निर्देशिकाअनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। यसले प्रसवका बेला आमाको मनोबल बढाउनुका साथै शिशुको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, शिशु जन्मिएपछि आमाबाट अलग नराखी आमाकै शय्यामा राख्ने र सकेसम्म चाँडो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। यसले जन्मलगत्तै स्तनपान सुरु गर्न र आमा तथा शिशुबीचको सम्पर्क कायम राख्न सहयोग गर्ने लक्ष्य राखेको छ।
निर्देशिकाले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्रीवितरण नियन्त्रण) ऐन, २०४९’ को प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएको छ। आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्रीवितरण तथा प्रवर्द्धनलाई नियमन गरी स्तनपानको संरक्षण र प्रवर्द्धन गर्ने व्यवस्था निर्देशिकामा समेटिएको छ।
सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित स्वास्थ्य समस्या पहिचान गर्ने व्यवस्था गरिएको छ। यसका लागि स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति अर्थात् ‘फोकल पर्सन’ तोक्नुपर्नेछ।
निर्देशिकाले स्तनपानका लागि अनुकूल वातावरण निर्माण गर्न, आमालाई आवश्यक सहयोग उपलब्ध गराउन तथा आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न जोड दिएको छ।
प्रसवदेखि सुत्केरीपछिको अवस्थासम्म मातृ तथा नवजात शिशुमैत्री सेवाको निरन्तरता सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगलाई थप व्यवस्थित बनाउने लक्ष्यसहित नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ।
