ख्वप आदर निकेतनलाई पूर्व डीन प्रा.डा. मल्लको एक लाख एक सय एक रुपैयाँ सहयोग
भक्तपुर, २९ असोज। त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका पूर्व डीन प्रा.डा. सर्वज्ञभक्त मल्लले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप आदर निकेतनलाई एक लाख एक सय एक रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
भक्तपुर नगरपालिका–६, अंचा पुखुस्थित ख्वप आदर निकेतनलाई सहयोग प्रदान गर्नुभएका मल्लप्रति नगरपालिकाले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप आदर निकेतन ज्येष्ठ नागरिकलाई सम्मानजनक वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेको छ। यहाँ ज्येष्ठ नागरिकलाई पोषणयुक्त खाना, मनोरञ्जन तथा नियमित स्वास्थ्य परीक्षणलगायतका सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
नगरपालिकाले ‘भक्तपुर नगरपालिका आदर निकेतन सेवा सम्बन्धी ऐन, २०७७’ अन्तर्गत केन्द्र सञ्चालन गर्दै आएको छ। घरमा हेरचाह गर्ने व्यक्ति नभएका ज्येष्ठ नागरिकलाई स्थानीय तहमार्फत निरन्तर हेरचाह र सेवा उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य हो।
