अलोकतान्त्रिक तरिकाले सत्ता परिवर्तन गर्ने प्रवृत्तिमाथि अनुसन्धान हुनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने तथा आफ्ना अनुकूलका सरकार स्थापना गर्ने प्रवृत्तिमाथि गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको ‘नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान’ को वेबसाइट सार्वजनिक गर्दै अध्यक्ष ओलीले लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले विस्थापित गर्ने र अस्थिरता निम्त्याउने प्रवृत्तिको अब अन्त्य हुनुपर्नेमा जोड दिएका हुन्।

विकासको गन्तव्य केही पछाडि धकेलिएको छ, तर हामी असफल भएका छैनौँ

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्ला राजनीतिक घटनाक्रमले धक्का पुर्‍याएको स्वीकार गरे। पछिल्ला घटनाहरूले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको उल्लेख गर्दै उनले यसलाई असफलता वा पराजयका रूपमा भने लिन नहुने स्पष्ट पारे।

“हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य लिएका छौँ। पछिल्ला घटनाका कारण हाम्रो गन्तव्य केही पछाडि धकेलिएको छ, तर यसको अर्थ हामी असफल वा पराजित भएका होइनौँ,” अध्यक्ष ओलीले भने।

समाजवादउन्मुख राज्य निर्माण र मानवतावादी कार्यक्रम

आफ्नो नेतृत्वको सरकारले अघि बढाएका सामाजिक सुधारका कार्यक्रमहरू समाजवादउन्मुख राज्य निर्माणका आधार भएको उनको भनाइ थियो। सडक बालबालिकाको उद्धार तथा व्यवस्थापन, सहयोगापेक्षी सडक मानवको संरक्षण र सडकमा भिक्षा माग्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयासलाई उनले जिम्मेवार सरकारको अवधारणासँग जोडे।

सरकारको जिम्मेवारी केवल कागजी हिसाबकिताब र जवाफदेहितामा मात्र सीमित नहुने प्रस्ट्याउँदै उनले नागरिकप्रति राज्य आमा जस्तै संवेदनशील हुनुपर्ने बताए। उनले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कार्यक्रम र बालबालिकाका लागि सञ्चालित ‘खोलौँ खाता’ अभियानलाई मानवतावादी सोचका बलिया उदाहरणका रूपमा प्रस्तुत गरे।

नागढुंगा क्षेत्रमा राखिएको साइनबोर्डको विवाद र विकास निर्माणका आलोचनाबारे टिप्पणी गर्दै उनले भने, “हामीले गरेका सामाजिक कार्यहरूको महत्त्व कुनै साइनबोर्ड हटाउँदैमा समाप्त हुँदैन। ती कामले समाजमा पारेको प्रभाव र तिनको इतिहासलाई मेटाउन सकिँदैन।”

जनताको दुःख निवारण र रोजगारी विना समृद्धि असम्भव

‘सुखी नेपाली’ बनाउने लक्ष्य हासिल गर्न सर्वप्रथम जनताको दुःख निवारण गर्नुपर्नेमा अध्यक्ष ओलीले विशेष जोड दिए। गरिबी, अभाव र असहाय अवस्थाको अन्त्य गर्दै नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने वातावरण बनाउनु नै समृद्धिको यात्राको सुरुआती सर्त भएको उनको भनाइ छ।

त्यसका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता सहजै पूरा गर्न सक्ने रोजगारीका अवसरहरू उपलब्ध गराउनेतर्फ राज्यको ध्यान जानुपर्ने उनले बताए। जनताको जीवनस्तरमा सुधार नगरी समृद्धिको लक्ष्य हासिल गर्न नसिकने उनको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *