बन्दीपुरस्थित ६०० वर्ष पुरानो प्रसिद्ध खड्गदेवी मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ, असोज ३१ । तनहुँको ऐतिहासिक तथा पर्यटकीय नगरी बन्दीपुरस्थित प्रसिद्ध खड्गदेवी मन्दिरमा बडादसैँको फूलपातीका अवसरमा आज बिहानैदेखि पूजाआजा गर्ने भक्तजनको ठूलो भीड लागेको छ । बन्दीपुर गाउँपालिका ४ मा अवस्थित करिब ६०० वर्ष पुरानो यो मन्दिर विगतमा वर्षको नौ दिन अर्थात् दसैँको नवरात्र अवधिमा मात्र खुल्ने गर्दथ्यो। यद्यपि, पछिल्लो तीन वर्षयता भने मन्दिर सर्वसाधारणका लागि दैनिक रूपमा खुला रहँदै आएको छ ।
मन्दिर प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेका अनुसार फूलपातीका दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पूजाअर्चनाका लागि मन्दिर खुला रहने व्यवस्था मिलाइएको छ। पूजाका लागि बन्दीपुरका ग्रामीण भेगका साथै छिमेकी पालिकाबाट समेत उल्लेख्य सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको स्थानीय किसान प्रधानले जानकारी दिनुभयो ।
जातीय सहिष्णुताको अनुपम नमुना
खड्गदेवी मन्दिर सामाजिक सद्भाव र जातीय सहिष्णुताको अनुपम प्रतीकका रूपमा परिचित छ। यस मन्दिरमा परापूर्वकालदेखि नै मगर, बाहुन र कामी जातिका तीन फरक–फरक पुजारीहरूले संयुक्त रूपमा नित्य पूजाआजा तथा धार्मिक कार्य सञ्चालन गर्दै आएका छन् ।
धार्मिक किंवदन्ती तथा जनविश्वास
प्रचलित किंवदन्ती अनुसार, भगवान् शिवले पाल्पाली राजा मणिमुकुन्द सेनलाई उपहारस्वरूप प्रदान गरेको तरबार राजाले एक ब्राह्मणीको घरमा छाडेर देवघाटमा समाधि लिनुभएको थियो। उक्त तरबारले पछि नागको रूप धारण गरी घर परिक्रमा गर्न थालेपछि धार्मिक अनुष्ठान गरिएको बताइन्छ । सो क्रममा नाग पुनः तरबारको रूपमा परिणत भई उडेर बन्दीपुर डाँडामा खसेको र भगवान् शिवको सन्देशस्वरूप खड्गदेवीको रूपमा प्रकट भएपछि मन्दिर स्थापना गरिएको धार्मिक विश्वास छ ।
बन्दीपुरबासीले इष्टदेवीका रूपमा पुज्ने यस मन्दिरको दर्शन गर्नाले सबल, सक्षम र कुशल नेतृत्व, कुशल प्रशासक तथा सत्कर्मी बन्ने आशीर्वाद प्राप्त हुने जनविश्वास रहिआएको छ ।
फूलपातीमा विशेष खड्ग शोभायात्रा
हरेक दसैँको फूलपातीका अवसरमा मन्दिर परिसरमा विशेष मेलाका साथै मन्दिरको पवित्र खड्गलाई बजार परिक्रमा गराई भव्य शोभायात्रा निकालिन्छ । विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको ऐतिहासिक गहना पहिराएर देवीको खड्ग यात्रा गराइने उल्लेख छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार यस शोभायात्रामा सम्पूर्ण जातजातिका समुदायको स्वतःस्फूर्त सहभागिता रहने गर्दछ र हजारौँको सङ्ख्यामा सर्वसाधारण उपस्थित हुने गर्छन्।
मन्दिरको संरचना
प्रारम्भिक चरणमा ढुङ्गाबाट मात्र निर्मित यस मन्दिरलाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा दरबार शैलीमा रूपान्तरण गरिएको थियो । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको यस मन्दिरमा हाल आकर्षक तामाको छाना छाएर संरक्षण गरिएको छ ।
