नागरिकको विश्वास जित्ने राजनीतिक दल बनाउँछु : सभापति थापा
नवनिर्वाचित सभापतिको शपथ ग्रहण
काठमाडौँ, असोज ३१ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वास जित्ने, वैचारिक नेतृत्व प्रदान गर्ने र सामाजिक आन्दोलनको अगुवाइ गर्ने भरोसा योग्य संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।पार्टीको केन्द्रीय निर्वाचन समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको नवनिर्वाचित सभापतिको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उहाँले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाइने बताउनुभयो ।
सभापति थापाले आगामी चार वर्ष पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा र समस्यालाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो । नेपाली समाजका समसामयिक प्रश्नको जवाफ दिन सक्ने वैचारिक नेतृत्वका रूपमा कांग्रेसलाई अघि बढाउने, सङ्गठनलाई आधुनिक बनाउने तथा युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने योजना रहेको उहाँले बताउनुभयो ।
पार्टीभित्र सहमत र असहमत दुवै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाइने स्पष्ट पार्नुभयो । सभापतिको पद अधिकार नभई जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले आफ्नो कमजोरीको भार पार्टीले बोक्न नहुने र व्यक्तिले आफ्ना गल्तीको जिम्मेवारी आफैँ लिनुपर्ने धारणा राख्नुभयो ।
हालैका प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक र अभावमा रहेकाले यस वर्ष दसैँ तडकभडकपूर्ण रूपमा नमनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । विपत्तिबाट प्रभावित तथा आफन्त गुमाएका परिवारसँग ऐक्यबद्धता जनाउँदै चाडपर्व मनाउन र सामाजिक सद्भाव कायम राख्न उहाँले पार्टीका नेताकार्यकर्ता तथा आमनागरिकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले छोटो समयमा तय गरिएको कार्यतालिकाअनुसार निर्वाचन सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँले कांग्रेसको इतिहासमा पहिलोपटक १६५ वटै निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशन गर्न सफल भएको बताउनुभयो ।
संयोजक खड्काले नवनिर्वाचित सभापति थापालाई देशमा बढ्दै गएको राजनीतिक अनुशासनहीनतालाई सही दिशामा ल्याउन, सार्वभौम सत्ताको संरक्षण गर्न तथा नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र मानव अधिकारको रक्षा गर्न सक्षम नेतृत्व प्रदान गर्न आग्रह गर्नुभयो ।
