सरकारका तर्फबाट विन्ध्यवासिनी मन्दिरमा विधिपूर्वक भित्र्याइयो फूलपाती

फूलपाती

काठमाडौँ, असोज ३१ । बडादसैँको सप्तमीका अवसरमा पोखरास्थित प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा आज सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्र्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको उपस्थितिमा परम्पराअनुसार फूलपाती भित्राइएको हो । कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवान र सर्वसाधारणको सहभागिता थियो ।

फूलपाती भित्र्याउन पोखराको मानव अधिकार चोकबाट बाजागाजासहित शोभायात्रा निकालिएको थियो । भिमसेन मन्दिर, नालाको मुख र मोहोरियाटोल हुँदै विन्ध्यवासिनी मन्दिर परिसर पुगेको शोभायात्रा पूजाआजापछि समापन भएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङ, प्रहरी प्रमुख नवीन कार्कीलगायत सुरक्षा निकायका अधिकारीले कस्केली नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै मन्दिरमा पूजाआजा गर्नुभएको थियो । साथै, चारवटै सुरक्षा निकायका तर्फबाट नवदुर्गा भगवतीलाई सलामी अर्पण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गुरुङले चाडपर्वका अवसरमा शान्तिसुरक्षा कायम राखी नागरिकलाई भयरहित वातावरणमा खुसीसाथ पर्व मनाउने व्यवस्था मिलाउन सबै पक्षलाई आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सरकारी स्तरबाट परम्परागत रूपमा फूलपाती भित्र्याउने कार्य हुँदै आएको उहाँले बताउनुभयो ।

परम्परादेखि नै विन्ध्यवासिनी मन्दिर र कास्कीकोटमा नेपाल सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्र्याउने प्रचलन रहिआएको छ ।

फूलपातीका दिन पोखराका विन्ध्यवासिनी, तालबाराही, भद्रकाली र अकलादेवीलगायत मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको घुइँचो लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *