अमेरिकाद्वारा इरानमाथि थप सैन्य कारबाहीको सङ्केत: हर्मुज जलडमरूमध्यमा एकै दिन सात तेल ट्याङ्करमा क्षति
वासिङ्टन डीसी / तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही हुनसक्ने सङ्केत गर्नुभएको छ। अमेरिकाले इरानलाई ‘नराम्ररी प्रहार’ गरिसकेको दाबी गर्दै ट्रम्पले आवश्यकता परे थप कडा कदम चाल्न अमेरिका पछि नहट्ने चेतावनी दिनुभएको छ।
अर्कोतर्फ, इरानले स्ट्रेट अफ हर्मुज मा एकै दिन सातवटा तेल बोक्ने ट्याङ्करहरूमा क्षति पुगेको जनाएको छ। अमेरिका-इजरायल र तेहरानबीच युद्ध सुरु भएयता एकै दिन यति धेरै ट्याङ्करहरूमा क्षति पुगेको यो पहिलो पटक हो।
अमेरिकी आधार शिविरहरूमा आक्रमण गर्ने इरानको चेतावनी
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले यदि अमेरिकी युद्धपोतहरूले हर्मुज जलडमरूमध्यबाट व्यावसायिक जहाजहरूलाई स्कर्टिङ (सुरक्षा पहरा) दिने कार्य जारी राखेमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ।
IRGC का अनुसार उत्तरी खाडी क्षेत्रमा गैरकानुनी रूपमा तेल ओसारपसार गरिरहेका चारवटा जहाजमा उनीहरूले आक्रमण गरेका छन् भने अन्य तीनवटा जहाज जलडमरूमध्यमा बिछ्याइएका बारुदी सुरुङ (Mines) मा ठोक्किएर क्षतिग्रस्त भएका हुन्। यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
जलमार्गमा सुरक्षा चुनौती र तेल आपूर्तिमा असर
संयुक्त अधिराज्यको युके म्यारिटाइम ट्रेड अपरेसन एजेन्सीका अनुसार अक्टोबर ८ देखि १७ को बीचमा कम्तीमा १४ वटा जलपोतहरूमाथि आक्रमण भइसकेको छ। निरन्तरका आक्रमणका कारण उक्त क्षेत्रमा समुद्री व्यापार र जहाजहरूको आवागमन युद्धअघिको तुलनामा ७० प्रतिशतले घटेको छ।
यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरूमध्यबाट हुने तेलको निकासी युद्धअघिको स्तरभन्दा पनि बढेको दाबी गर्नुभएको छ। तर अन्तर्राष्ट्रिय क्षेत्रका अनुगमनकर्ताहरूका अनुसार त्यस क्षेत्रमा तनाव चरम बिन्दुमा पुगेको छ र विश्वव्यापी इन्धन आपूर्ति प्रणालीमा यसले गम्भीर असर पार्ने जोखिम बढाएको छ।
