युरोपमा नेपालको पर्यटन प्रवर्द्धन, लाखे नाचदेखि सेलरोटी र छुयालामा रमाए पाहुना

काठमाडौँ, १३ कात्तिक । हिमाल, संस्कृति र नेपाली मौलिक स्वादलाई युरोपेलीमाझ चिनाउने उद्देश्यसहित बेल्जियमको ब्रसेल्समा नेपालसहित चार दक्षिण एसियाली देशले संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेका छन् ।

ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलङ्काका राजदूतावाससँगको सहकार्यमा ‘हिमाली शिखरदेखि समुद्री तटसम्म’ शीर्षकमा कार्यक्रम गरेको हो । कार्यक्रममा युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि, विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिसहित करिब एक सय जनाको सहभागिता थियो ।

कार्यक्रममा नेपाली राजदूत सेवा लम्सालले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन, ऐतिहासिक सम्पदा र आरोग्य पर्यटनका सम्भावनाबारे जानकारी गराउनुभयो । सन् २०२७ लाई नेपालले अन्तरराष्ट्रिय आरोग्य वर्षका रूपमा मनाउन लागेको उल्लेख गर्दै उहाँले नेपालको आध्यात्मिक तथा आरोग्य पर्यटनको अनुभव लिन सहभागीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्काउने लाखे नाच र परम्परागत धिमे बाजाको प्रस्तुतिले सहभागीको ध्यान खिचेको थियो । नेपाली परिकारका रूपमा प्रस्तुत सेलरोटी र छोइलाले पनि सहभागीको रुचि पाएको थियो ।

नेपाली प्रदर्शनी कक्षमा पर्यटनसम्बन्धी पुस्तिका, पोस्टर, नक्सा, मिथिला कला, हस्तकला, पश्मिना, चिया र कफीलगायत सामग्री राखिएको थियो । नेपालको पर्यटकीय गन्तव्यबारे जानकारी लिन सहभागीले दूतावासका प्रतिनिधिसँग चासो देखाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि युरोपेली बाह्य कार्य सेवाका उपमहानिर्देशक डोमिनिक पोर्टरले दक्षिण एसियाली देशसँगको सहकार्य र दिगो पर्यटन प्रवर्द्धनको महत्त्वमा जोड दिनुभएको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *