इजरायलमा नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा, सरकार गठनमा अन्योल

एजेन्सी, १३ कात्तिक । इजरायलको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम चुनावी परिणामअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न सकेन। नेतान्याहु समर्थक समूहले ५३ सिट जित्दा विपक्षी समूहले ४८ र अरब दलहरूले १९ सिट प्राप्त गरेका छन्। नयाँ नेसेटले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ।

‘द टाइम्स अफ इजरायल’का अनुसार नेतान्याहुको लिकुड पार्टी २७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। गदी आइसेनकोट नेतृत्वको याशरले २१, बी’याचडले १२ र संयुक्त सूचीले ११ सिट जितेका छन्। डेमोक्रेट्स र रामले आठ–आठ सिट प्राप्त गरेका छन् भने अन्य तीन दलले सात–सात सिट जितेका छन्। सास र रिलिजियस जियोनिज्मले छ–छ सिट प्राप्त गरेका छन्। निर्वाचनमा ७७.९ प्रतिशत मतदाताले मतदान गरेका थिए।

अन्तिम आधिकारिक परिणाम नोभेम्बर ४ मा राष्ट्रपति आइज्याक हर्जोगसमक्ष पेस गरिनेछ। त्यसपछि राष्ट्रपतिले सरकार गठनको सम्भावना बढी भएको उम्मेदवार पहिचान गर्न राजनीतिक दलका प्रतिनिधिसँग परामर्श गर्नेछन्। पहिलो उम्मेदवार असफल भए अर्को नेतालाई अवसर दिन सकिनेछ। निर्धारित समयभित्र सरकार गठन हुन नसके पुनः निर्वाचन हुन सक्छ।

यसैबीच, नेतान्याहु र अर्थमन्त्री बेजलेल स्मोट्रिचबीच चुनावपछि राजनीतिक सहकार्यबारे छलफल भएको छ। अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले लिकुडको सफलतामा नेतान्याहुलाई बधाई दिँदै अर्जेन्टिना र इजरायल पश्चिमी मूल्य–मान्यताको रक्षाका लागि रणनीतिक साझेदार रहने बताएका छन्।

सरकार गठनका लागि विपक्षी दलहरूबीच पनि छलफल भइरहेको छ। च्यानल १२ न्युजका अनुसार अरब दलहरूको बाह्य समर्थनमा याशर नेता आइसेनकोटको नेतृत्वमा अल्पमतको सरकार बनाउने सम्भावनाप्रति राम पार्टीका नेता मन्सुर अब्बासले शङ्का व्यक्त गरेका छन्। अरबबहुल दललाई सरकारमा समावेश गर्ने विषयमा डेमोक्रेट्सले मात्रै खुलापन देखाएको ‘द टाइम्स अफ इजरायल’ले जनाएको छ।

लिकुडसहितको राष्ट्रिय एकता सरकार बनेमा आइसेनकोट, टुगेदर आन्दोलनका नेता नफ्ताली बेनेट र इजरायल बेटेनुका नेता अभिग्डोर लिबर्मनको सहभागितामा सैद्धान्तिक रूपमा ६६ सिटको समर्थन जुट्न सक्छ। तर नेतान्याहुलाई सत्ताबाट हटाउने विपक्षीको प्रतिबद्धता र उहाँको अति दक्षिणपन्थी तथा अति रूढिवादी सहयोगीहरूमाथिको निर्भरताले यस्तो समीकरणलाई जटिल बनाएको छ। अल्पमतको सरकार गठनको प्रयासमा अरब दलहरूको समर्थन निर्णायक हुन सक्छ।

यसैबीच, निर्वाचनमा विदेशी हस्तक्षेप भएको आशङ्काबारे अनुसन्धान गर्न पनि माग गरिएको छ। केन्द्रीय निर्वाचन समितिका अध्यक्ष नोम सोलबर्गले अरब क्षेत्रको मतदान प्रभावित पार्ने प्रयास भएको आशङ्काको अनुसन्धान गर्न शिन बेटका प्रमुख डेभिड जिनीलाई अनुरोध गरेका छन्। यद्यपि, मतपत्रको विश्वसनीयतामा व्यवस्थित हस्तक्षेप भएको दाबी पुष्टि गर्ने ठोस प्रमाण नभएको निर्वाचन समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *