नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्न पहल

काठमाडौं, १३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई समावेश गराउन पहल अघि बढाएका छन्।

नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपालले उक्त प्रस्ताव प्रस्तुत गरेको हो। काठमाडौंमा शुक्रबारदेखि सुरु भएको महासंघको साधारणसभा शनिबार सम्पन्न हुँदैछ।

मन्त्री खड्गराज पौडेलका अनुसार नेपालले यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टाछुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ।

प्रस्तावित हिमालमध्ये यालुङ काङ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिण ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्य ८ हजार ४७३ मिटर, ल्होत्से मध्य ८ हजार ४१० मिटर, ल्होत्से शार ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिम ८ हजार ७७ मिटर अग्ला छन्।

नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ। नेपालमा मात्रै यस्ता हिमालको संख्या आठबाट बढेर १४ पुग्ने प्रस्तावको दाबी छ। यसअनुसार विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुने अपेक्षा गरिएको छ।

नेपाल पर्वतारोहण संघको आतिथ्यमा भइरहेको सम्मेलनमा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी छन्। नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि यूआईएएको साधारणसभा आयोजना गरेको थियो।

प्रस्तावित हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहलले नेपालको पर्वतीय पहिचान विस्तार गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान र पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खोल्ने मन्त्री पौडेलले बताएका छन्।

उनका अनुसार यसले नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ। सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट बढ्दो जोखिम, प्राकृतिक सम्पदाको संरक्षण तथा पर्वतीय समुदायको जीविकोपार्जनका विषयमा पनि अन्तर्राष्ट्रिय बहस अघि बढाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *