नेपालको पहिलो जलविद्युत् केन्द्र फर्पिङ बन्दै पर्यटनको आकर्षक गन्तव्य

काठमाडौँ, ४ मङ्सिर । नेपालको पहिलो जलविद्युत् केन्द्र रहेको काठमाडौँको फर्पिङलाई ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने तयारी गरिएको छ ।

दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङमा रहेको चन्द्रज्योति विद्युत् गृह नेपालको पहिलो जलविद्युत् आयोजना हो । विसं १९६८ जेठ ९ गते उद्घाटन भएको यस आयोजनाको क्षमता ५०० किलोवाट थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको उक्त केन्द्रले २०३८ सालसम्म नियमित विद्युत् उत्पादन गरेको थियो ।

फर्पिङमा रहेको पुरानो पावरहाउस, पेल्टन टर्बाइन, जेनेरेटर तथा अन्य उपकरण अहिले पनि ऐतिहासिक सम्पदाका रूपमा संरक्षित छन् । नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रलाई ऐतिहासिक विद्युत् सङ्ग्रहालयका रूपमा विकास गर्ने काम अघि बढाएको छ ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतका अनुसार फर्पिङलाई पर्यटन गन्तव्य बनाउन म्यापिङको काम भइरहेको छ । यहाँको जलविद्युत् केन्द्रसँगै शेषनारायण मन्दिर, असुर गुफा, बौद्ध गुम्बा र दक्षिणकाली मन्दिरलाई समेटेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ ।

काठमाडौँबाट एकै दिनमा घुम्न सकिने फर्पिङलाई पदयात्रा, पिकनिक, धार्मिक तथा शैक्षिक भ्रमणको गन्तव्य बनाउन सकिने स्थानीयको भनाइ छ ।

जलविद्युत् लगानीकर्ता विजय सागर प्रधानले पुरानो जलविद्युत् केन्द्रको संरक्षण र प्रवर्द्धन गर्दै जलाशय, पावरहाउस, मन्दिर तथा गुम्बालाई जोडेर ऐतिहासिक र शैक्षिक पर्यटन विकास गर्न सकिने बताउनुभयो । यसबाट नेपालको विद्युत् इतिहासबारे जानकारी लिन चाहने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *