हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
भक्तपुर, ४ मङ्सिर । हरिबोधनी एकादशीका अवसरमा भक्तपुरको ऐतिहासिक चाँगुनारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । अठार सय वर्ष पुरानो लिच्छवीकालीन मन्दिरमा बिहान २ बजेदेखि नै भक्तजन दर्शनका लागि पुगेका थिए ।
उपत्यकाका चार नारायणमध्ये जेठो मानिने चाँगुनारायणको दर्शन गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु चार महिनाको शयनपछि जागा हुने मान्यताअनुसार भक्तजनले विशेष पूजा तथा दर्शन गर्ने परम्परा रहेको मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताउनुभयो ।
यस वर्ष दर्शनार्थीको सहजताका लागि मन्दिर परिसरमा फूल र बत्तीले सजावट गर्नुका साथै स्वयंसेवक, स्काउट, नगर प्रहरी र सुरक्षाकर्मी परिचालन गरिएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
हरिबोधनी एकादशीमा चाँगुनारायणसहित शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायणको दर्शन गर्ने परम्परा छ । यस दिन व्रत बस्ने, तुलसीको पूजा गर्ने तथा तुलसी र दामोदरको विवाह गरिदिने धार्मिक चलनसमेत रहेको छ ।
