प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा प्याराग्लाइडिङ स्कुल सञ्चालन
कास्की, ४ मङ्सिर । दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ ।
पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको करिब तीन दशकपछि जिल्लामै पहिलोपटक औपचारिक प्रशिक्षण केन्द्र स्थापना गरिएको हो । एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा रिभानस्थित मैँचेडाँडामा बिहीबारदेखि प्रशिक्षण सञ्चालनमा ल्याएको हो ।
अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ खेलाडीसमेत रहेका विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीको रु एक करोड ५० लाख लगानीमा स्कुल स्थापना गरिएको हो । पूर्वाधार निर्माणको केही काम बाँकी रहेकाले लगानी थप बढ्ने सञ्चालकले बताएका छन् ।
स्कुलका सञ्चालक विजय गौतमका अनुसार मैँचेडाँडाबाट उडान भरी मर्दीखोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । समुद्री सतहबाट एक हजार ६८० मिटर उचाइमा रहेको मैँचेडाँडा प्याराग्लाइडिङका लागि उपयुक्त स्थान मानिएको छ ।
मैँचेडाँडाबाट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलासहित माछापुच्छ्रे गाउँपालिकाका लाहाचोक, ल्वाङ र अस्तामलगायतका पर्यटकीय क्षेत्र तथा पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।
गौतमका अनुसार स्कुलमा प्रारम्भिक १५ दिने तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण सञ्चालन गरिनेछ । एक सत्रमा छ जनालाई प्रशिक्षण दिने व्यवस्था गरिएको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना)का पूर्वअध्यक्ष कृष्ण भण्डारीका अनुसार पोखरामा हाल ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । करिब ४०० जनाले प्याराग्लाइडिङ पाइलटको लाइसेन्स लिएकामा २५० जना विभिन्न कम्पनीमा कार्यरत छन् ।
प्याराग्लाइडिङका लागि अन्तर्राष्ट्रियस्तरमा परिचित पोखरामा पाइलट उत्पादन गर्ने प्रशिक्षण स्कुल स्थापना हुनु यस क्षेत्रको दीर्घकालीन विकासका लागि महत्वपूर्ण उपलब्धि भएको भण्डारीले बताउनुभयो । उहाँका अनुसार व्यवसायलाई दिगो बनाउन नियमित रूपमा दक्ष पाइलट उत्पादन आवश्यक छ । प्रशिक्षण केन्द्र सञ्चालनमा आएपछि नेपाली जनशक्ति उत्पादनसँगै विदेशी पर्यटकले समेत यहाँ आएर प्रशिक्षण लिन सक्ने सम्भावना बढेको छ ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सराङकोटपछि रिभानलाई पनि प्याराग्लाइडिङको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले प्रदेश सरकारले पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि प्याराग्लाइडिङको विकास तथा विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्रशिक्षण केन्द्र सञ्चालनले स्थानीय पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विगतमा पदयात्रा मार्गका रूपमा परिचित रिभान पछिल्लो समय ओझेलमा परेको उल्लेख गर्दै उहाँले क्षेत्रको विकासमा गाउँपालिकाले प्राथमिकता दिने बताउनुभयो ।
वडाध्यक्ष नारायण पौडेलले रिभानमा पर्यटन विकासको पर्याप्त सम्भावना रहेको बताउँदै पर्यटकको बसाइ लम्ब्याउन ओदानेसम्मको पर्यटकीय मार्ग स्तरोन्नति गरी खुमैसम्म जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन, नयाँ उडानस्थलको विकास र ग्रामीण पर्यटन विस्तारका दृष्टिले प्याराग्लाइडिङ स्कुल महत्वपूर्ण रहेको बताउनुभयो ।
स्थानीय समाजसेवी यामबहादुर गुरुङले स्कुल सञ्चालनसँगै पर्यटक आगमन बढ्नुका साथै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । यसबाट गाउँ छाडेर बाहिरिएका स्थानीयलाई समेत आफ्नै थातथलो फर्किएर व्यवसाय सञ्चालन गर्ने वातावरण बन्न सक्ने उहाँको भनाइ छ ।
रिभानको मैँचेडाँडा पोखराबाट जीपमा करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ । लाहाचोकको पातीखोलाबाट डाँडा चढेपछि मैँचेडाँडा पुगिन्छ, जहाँबाट हिमशृङ्खला, पहाडी भू–दृश्य र पोखरा उपत्यकाको मनोरम दृश्य देखिन्छ ।
