बाइनान्समा ६ अर्ब डलरको ऐतिहासिक साइबर हमला: उत्तर कोरियाली ह्याकर समूहमाथि आशंका
काठमाडौँ । विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बाइनान्स’ मा ६ अर्ब अमेरिकी डलर (करिब ८ खर्ब रुपैयाँभन्दा बढी) बराबरको डिजिटल सम्पत्ति चोरी भएको छ। क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो मानिएको यस डकैतीमा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता रहेको आशंका गरिएको छ।
घटनालगत्तै बाइनान्सले आफ्ना प्रयोगकर्ताहरूका लागि रकम निकाल्ने सुविधा अस्थायी रूपमा स्थगन गरेको छ।
इन्जिनियरको ल्यापटपबाट प्रणालीमा घुसपैठ
बाइनान्सले बिहीबार जारी गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार, एक इन्जिनियरको ल्यापटप ह्याक गरी आक्रमणकारीहरूले सर्भिस कन्टेनरमा पहुँच बनाएका थिए। सोही पहुँचको प्रयोग गर्दै उनीहरूले अनधिकृत रूपमा ठूलो परिमाणमा क्रिप्टो ट्रान्सफर गराउन सफल भएका हुन्।
तर, बाइनान्सका सह-सिइओ रिचर्ड टेङले सामाजिक सञ्जाल ‘एक्स’ (X) मार्फत यो कुनै ‘एक क्लिक’ मा भएको सामान्य आक्रमण नभई अत्यन्तै जटिल प्रक्रियाबाट गरिएको बताएका छन्। यस घटनामा कुनै वालेटको निजी कि (Private Key) लीक भएको प्रमाण भने फेला नपरेको कम्पनीले जनाएको छ।
३ अर्ब डलर फ्रिज, प्रयोगकर्ताको रकम सुरक्षित रहने दाबी
आक्रमणलगत्तै विभिन्न क्रिप्टो-ट्र्याकिङ फर्म र बाइनान्सको संयुक्त टोलीले ह्याकरहरूसँगको प्राविधिक प्रतिस्पर्धाबीच करिब ३ अर्ब डलर बराबरको सम्पत्ति फ्रिज (रोक्का) गर्न सफल भएको छ।
बाइनान्सका संस्थापक तथा मुख्य सेयरधनी च्याङपेङ झाओ (CZ) ले प्रयोगकर्ताहरूको सम्पूर्ण क्षति कम्पनीको आफ्नै कोष तथा आपतकालीन सम्पत्ति कोष (Emergency Assets Fund) बाट व्यहोर्ने स्पष्ट पारेका छन्। कम्पनीले आइतबार बिहानसम्ममा रकम निकाल्ने सेवा पुनः सुचारु हुने अपेक्षा राखेको छ।
उत्तर कोरियामाथि सोझियो औँला
ब्लकचेन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्थाहरू—टीआरएम ल्याब्स , प्याङ्गोलिन इन्टेलिजेन्स र चेनएनालिसिस ले अन-चेन डाटा र पूर्व घटनाहरूको विश्लेषणका आधारमा यस हमलामा उत्तर कोरियाको अत्याधुनिक ह्याकिङ युनिट संलग्न रहेको दाबी गरेका छन्।
ह्याकरहरूले अब मनि लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) को सञ्जाल प्रयोग गरी चोरीको रकम नगदमा परिणत गर्ने प्रयास गर्ने अनुमान गरिएको छ। यता अमेरिकी अनुसन्धान एजेन्सी एफबिआई (FBI) ले पनि घटनाको गम्भीर अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
यसअघि पनि बाइबिट एक्सचेन्जबाट १.५ अर्ब डलर चोरी भएको घटनामा उत्तर कोरियाली ह्याकरहरू नै दोषी ठहरिएका थिए। अन्तर्राष्ट्रिय प्रतिबन्ध झेलिरहेको उत्तर कोरियाली शासनका लागि यस्ता साइबर हमलाहरू आम्दानीको मुख्य स्रोत बन्दै आएको सुरक्षा विश्लेषकहरूको भनाइ छ।
क्रिप्टो बजारमा गिरावट
बाइनान्समा भएको ठूलो साइबर हमलाको खबर बाहिरिएसँगै बिटकोइन र इथरियम लगायतका प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ। यद्यपि, बाइनान्सले प्रयोगकर्ताको रकम सुरक्षित रहने ग्यारेन्टी गरेपछि बजारमा केही सुधार देखिएको छ।
