काठमाडौंमा पत्रकारको मौन प्रदर्शन, पक्राउ र सञ्चारगृहमा छापाको विरोध

काठमाडौं, कात्तिक १४ । सञ्चारगृहमा छापा मारिएको र समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाको विरोधमा पत्रकारहरूले शनिबार बिहान माइतीघरमा प्रदर्शन गरेका छन् । वर्षाको बीचमा पनि उनीहरूले प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका थिए ।

नेपाल पत्रकार महासंघको आह्वानमा भएको प्रदर्शनमा सहभागी पत्रकारहरूले पत्रकार पक्राउ, सञ्चारगृहमा छापा र पत्रकारलाई त्रसित पार्ने गतिविधिको विरोध गरे । उनीहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षा र सञ्चारमाध्यममाथिको हस्तक्षेप अन्त्य गर्न माग गरे ।

प्रदर्शनलाई महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रमेश विष्ट र पत्रकार देवेन्द्र चुडालले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै विष्टले नेपाली प्रेसलाई राजा ज्ञानेन्द्रको शासनकालमा जस्तै फेरि त्रसित बनाउन खोजिएको आरोप लगाए । समाचारको स्रोत खुलाउन दबाब दिने उद्देश्यले पत्रकारलाई अपहरणकै शैलीमा पक्राउ गरिएको उनको भनाइ थियो । यस्तो कार्य प्रेस स्वतन्त्रतासम्बन्धी विश्वव्यापी मान्यता र नेपालको संविधानविपरीत रहेको उनले बताए ।

सरकारको पछिल्लो गतिविधिले प्रकाशित समाचार सत्य रहेको पुष्टि भएको दाबी गर्दै विष्टले नेपाली प्रेस एकढिक्का भएर यस्ता गतिविधिको सामना गर्ने बताए । उनले सरकारलाई प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप र पत्रकारलाई त्रसित बनाउने गतिविधि तत्काल रोक्न चेतावनी पनि दिए ।

यसअघि शुक्रबार प्रहरीले नेपाल प्रेसको समाचार कक्षमा प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको थियो । प्रहरीले नयाँ पत्रिकालगायतका सञ्चारगृहमा पनि पुगेर धरपकडको प्रयास गरेको थियो । चौतर्फी विरोध भएपछि पक्राउ परेका सुवेदीलाई केही घण्टामै छाडिएको थियो ।

आफू प्रेस स्वतन्त्रता र संविधानका लागि संघर्ष गरेको पत्रकार भएको बताउँदै सुवेदीले अहिले आफूलाई हतकडी लगाउने अवस्था आएको टिप्पणी गरे । प्रहरी महानिरीक्षकको निर्देशनमा प्रेस स्वतन्त्रता मिचिएको उनको आरोप छ । उनले पत्रकारलाई पक्राउ गर्न आदेश दिने व्यक्तिमाथि कारबाही गर्न माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *