स्थानीयको श्रमदानले खुल्यो म्याग्दीकाे पाउद्वार–खोप्रा पदमार्ग, पर्यटकलाई सहज

म्याग्दी, १६ कात्तिक । असोजको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको पाउद्वारदेखि पर्यटकीय गन्तव्य खोप्रा जोड्ने पदमार्ग स्थानीयवासीको श्रमदानबाट पुनः सञ्चालनमा आएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ का बासिन्दाले पाउद्वार–खोप्रा–खयर पदमार्गको पाउद्वार–हिलडाँडा–लरेनी खण्ड मर्मत गरी आवागमन सहज बनाएका हुन् ।

पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनका अनुसार दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर पहिरो पन्छाउने र नयाँ बाटो निर्माण गर्ने काम गरिएको हो । गाउँका करिब दुई सय घरपरिवारका बासिन्दा एक महिनादेखि पदमार्ग, विद्युत् र खानेपानी योजना मर्मतमा जुटेका छन् ।

पदमार्ग खुलेपछि पर्यटकसँगै स्थानीयलाई घाँसदाउरा र गोठ आवतजावत गर्न सहज भएको छ । समुद्री सतहबाट तीन हजार ५६० मिटर उचाइमा रहेको खोप्रा अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यहाँबाट सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल र पशुगोठको अवलोकन गर्न सकिन्छ ।

चक्रवात ‘अर्नब’का कारण पछिल्ला दिनमा पर्यटक आगमन प्रभावित भए पनि अहिले पुरानै लयमा फर्किन थालेको खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनले बताउनुभयो ।

घोडेपानी, घान्द्रुक, बयली, ढाडखर्क र नारच्याङ लेकगाउँ हुँदै खोप्रा पुग्ने पर्यटकले चार हजार ६०० मिटर उचाइमा रहेको खयरतालको समेत भ्रमण गर्ने गरेका छन् । असोज–कात्तिक र चैत–वैशाख यस पदमार्गको मुख्य पर्यटकीय याम हुन् ।

पहिरोले सडक अवरुद्ध भए पनि खोप्रालगायत पर्यटकीय स्थल सुरक्षित रहेकाले सहज रूपमा भ्रमण गर्न सकिने स्थानीय व्यवसायीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *