सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौँ,  कात्तिक १७ । काठमाडौँको सुन्दरीजलमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बा प्र ०२-००६५ प ९१५७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट पछाडिबाट आउँदै गरेको बा प्र ०२-०५८ प ७४०५ नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पहिलो मोटरसाइकलमा सवार सुनसरीको इटहरी नगरपालिका ७ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका १ दोबाटो बस्ने ४५ वर्षीय सन्तोष ढुङ्गानाको उपचारका क्रममा मृत्यु भएको छ । उहाँको नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचारका क्रममा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा दोस्रो मोटरसाइकलका चालक सङ्खुवासभा घर भई गोकर्णेश्वर बस्ने ५० वर्षीय टीकाराम गुरुङ घाइते हुनुभएको छ । उहाँको बायाँ कुम, बायाँ खुट्टा र दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने मोटरसाइकलका चालक गोकर्णेश्वरका २४ वर्षीय आशबहादुर तामाङले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *