नासाको ३,२०० पाउन्डको स्विफ्ट खगोलीय अवलोकन केन्द्र पृथ्वीमा खस्यो

नासाको ‘स्विफ्ट’ खगोलीय अवलोकन केन्द्र वायुमण्डलमा जलेर नष्ट, अन्तरिक्षमा २२ वर्ष लामो यात्राको अन्त्य

काठमाडौं । अन्तरिक्षमा गामा-किरण विस्फोटको अध्ययन गर्दै आएको नासाको ‘नील गेहरेल्स स्विफ्ट खगोलीय अवलोकन केन्द्र’ बुधबार बिहान पृथ्वीको वायुमण्डलमा प्रवेश गरी जलेर नष्ट भएको छ। यससँगै अन्तरिक्षमा करिब २२ वर्ष बिताएको यो ऐतिहासिक उपकरणको यात्रा औपचारिक रूपमा समाप्त भएको छ।

अमेरिकी स्पेस फोर्सको तथ्याङ्कअनुसार, करिब ३,२०० पाउन्ड (१,४५० किलोग्राम) तौल भएको उक्त यान अमेरिकी पूर्वी समयअनुसार बिहान ७:३९ बजे इन्डोनेसियाको आकाशमा वायुमण्डलमा प्रवेश गरेको अनुमान गरिएको छ।

यानको अधिकांश भाग वायुमण्डलको बाक्लो तहसँगको घर्षणले जलेर नष्ट हुने अपेक्षा गरिए पनि केही टुक्रा जमिनमा खसे/नखसेको हालसम्म खुलेको छैन। यसअघि नासाले यसबाट कसैलाई क्षति पुग्ने जोखिम २,१०० मा १ मात्र रहेको जनाएको थियो।

जोखिमपूर्ण पुनःप्रवेश र सुरक्षा मापदण्ड

संघीय कोषबाट सञ्चालित अनुसन्धान तथा विकास केन्द्र ‘द एरोस्पेस कर्पोरेसन’का अनुसार स्विफ्ट हालै प्रक्षेपण गरिएको भए यसको अन्त्यका लागि अझ कडा सुरक्षा मापदण्ड पालना गर्नुपर्ने थियो। संस्थाका प्रवक्ता पार्कर विसिकका अनुसार सन् २०१९ मा अद्यावधिक गरिएको कक्षीय भग्नावशेष न्यूनीकरण मापदण्डअनुसार अनियन्त्रित पुनःप्रवेशमा अपेक्षित हताहती (गम्भीर चोटपटक वा मृत्यु) को सम्भावना १०,००० मा १ भन्दा कम हुनुपर्छ।

स्विफ्ट अनियन्त्रित रूपमा पृथ्वीमा खस्ने जोखिम नासाले पहिल्यै अनुमान गरेको थियो। गत जुलाईमा यानलाई समातेर माथि उचाल्ने र आयु एक दशक वा सोभन्दा बढी लम्ब्याउने उद्देश्यले एक साहसिक उद्धार अभियान सञ्चालन गरिएको थियो, तर त्यो सफल भएन। वायुमण्डलीय घर्षणका कारण यान क्रमशः २७५ किलोमिटर (१७१ माइल) उचाइमा तल झर्‍यो र वैज्ञानिक तथ्याङ्क सङ्कलन बन्द भयो।

नासाका अनुसार बढेको घर्षणको प्रभाव सन्तुलन गर्न नसकेपछि यान ‘सेफ मोड’ (सुरक्षित मोड) मा गएको थियो। यसैबीच, परियोजनामा नासाको साझेदार तथा मिसन सञ्चालन केन्द्र रहेको पेन स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अक्टोबर २० मा यानलाई अन्तिम ‘किल-स्विच’ आदेश पठाएका थिए।

पतन तीव्र बनाउने सौर्य गतिविधि

सन् २०२४ मा सूर्यको ११ वर्षे चक्रको चरम बिन्दु (सोलार म्याक्सिमम) आएपछि बढेको सौर्य गतिविधिले स्विफ्टको पतनलाई अझ तीव्र बनाएको हो। शक्तिशाली सौर्य ज्वाला र कोरोनल मास इजेक्सनका कारण पृथ्वीको वायुमण्डल फैलियो, जसले गर्दा स्विफ्टमाथिको घर्षण अत्यधिक बढ्यो र यो शरद ऋतुमा यान तल खस्ने निश्चितप्रायः भयो।

अन्ततः स्विफ्टलाई जोगाउन अमेरिकाको एरिजोनास्थित ‘क्याटालिस्ट स्पेस टेक्नोलोजीज’ कम्पनीले यसै वर्षको सुरुमा नौ महिनामै ‘लिंक’ (LINK) नामक उद्धार यान तयार पारेको थियो। तर, जुलाईमा प्रक्षेपण गरिएको केही हप्तापछि नै सो यान स्विफ्टसम्म नपुग्दै अन्तरिक्षमा नियन्त्रणबाहिर घुम्न थालेपछि अभियान असफल भयो। त्यसपछि वैज्ञानिकहरूले यानको पतन ढिलो गराउन र बिजुली जोगाउन यसका उपकरणहरू महिनौंसम्म बन्द राखेर अन्तिम समयसम्म पनि तथ्याङ्क सङ्कलन जारी राखेका थिए।

स्विफ्टको योगदान र भविष्यका चुनौती

सन् २००४ को नोभेम्बरमा प्रक्षेपण भएदेखि स्विफ्टले न्यून पृथ्वी कक्षामा ‘बहुउपयोगी खगोलीय उपकरण’ को रूपमा काम गर्दै आएको थियो। तीव्र गतिमा उड्ने चराको नामबाट नामाकरण गरिएको यो टेलिस्कोपले ब्ल्याक होलको गतिविधि र ब्रह्माण्डका सबैभन्दा शक्तिशाली मानिने गामा-किरण विस्फोटसहित क्षुद्रग्रह र धूमकेतुको समेत सूक्ष्म निगरानी गरेको थियो। तर, तत्कालका लागि यसको कुनै प्रत्यक्ष विकल्प भने तयार छैन।

स्विफ्टको यो प्रयास असफल भए पनि नासाले अन्य महत्त्वपूर्ण अन्तरिक्ष उपकरणहरूको आयु विस्तार गर्न सकिने सङ्केत दिएको छ। गत हप्ता मात्रै नासाले प्रख्यात ‘हबल स्पेस टेलिस्कोप’ लाई माथि उचाल्ने, मर्मतसम्भार गर्ने वा आयु लम्ब्याउने उपायका लागि व्यावसायिक कम्पनीहरूसँग प्रस्ताव (RFP) आह्वान गरेको छ।

नासाको विश्लेषणअनुसार सन् २०३२ सम्ममा हबल कक्षाबाट खस्ने सम्भावना १० प्रतिशत र २०३३ सम्ममा ५० प्रतिशत रहेको छ। सन् १९९० मा प्रक्षेपण गरिएको यो टेलिस्कोपले ब्रह्माण्डबारेका थुप्रै रहस्य उजागर गरेकामा यसको विकल्प भने सन् २०४० को दशकअघि आउने सम्भावना नरहेको उल्लेख गरिएको छ।(स्रोतः सीएनएन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *