आधुनिक दियोको बढ्दो प्रयोगले भक्तपुरको परम्परागत पालाचा संकटमा

भक्तपुर, १८ कात्तिक । आधुनिकताका नाममा परम्परागत संस्कृतिको प्रयोग घट्दै जाँदा भक्तपुरको मौलिक पहिचानसँग जोडिएको माटोको दियो ‘पालाचा’ संकटमा पर्न थालेको छ। तिहारमा माटोको पालाचाको सट्टा प्लास्टिक तथा आधुनिक विद्युतीय दियोको प्रयोग बढ्दै जाँदा परम्परागत पेसा प्रभावित भएको हो।

नेवारी भाषामा पालाचा भन्नाले माटोबाट बनाइएको दियो बुझिन्छ। भक्तपुरका कुमालेहरू दसैँमा दही राख्ने भाँडालगायतका सामग्री र तिहारमा पालाचा बनाउने गर्छन्। पहिले काँचो पालाचाको माग बढी हुने गरेकामा अहिले पोलेको दियोको माग बढेको कुमालेहरू बताउँछन्।

कुमाले रामेश्वर प्रजापतिका अनुसार आधुनिक दियो र बत्ती बजारमा आएपछि पालाचाको व्यापार घट्दै गएको छ। पहिले हातले माटो मुछ्ने र दियो बनाउने गरिएकामा अहिले मेसिनको प्रयोगले काम केही सहज भएको छ।

सूर्यमढीका कृष्ण प्रजापतिले २०७२ सालको भूकम्पपछि माटोको काम गर्न कठिन भएको बताउनुभयो। खुला ठाउँको अभाव, काँचो पालाचा पोल्ने स्थान नहुनु र छिमेकीबाट धुवाँधुलोको गुनासो आउनु समस्या बनेको उहाँको भनाइ छ। पहिले निःशुल्क पाइने माटो अहिले किन्नुपर्ने भएकाले लागत पनि बढेको छ। पहिले एक रुपैयाँमा पाँचवटासम्म पाइने काँचो पालाचा अहिले प्रतिगोटा करिब दुई रुपैयाँ पर्ने गरेको उहाँले बताउनुभयो।

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पालाचा महँगो हुँदा स्थानीयले प्रयोग कम गर्ने गरेको बताउनुभयो। नगरपालिकाले युवालाई सेरामिक्सबाट बनेका माटोका सामग्री प्रयोग गर्न प्रोत्साहित गर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो। परम्परागत सीपलाई आधुनिक प्रविधि र सिर्जनशीलतासँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नगर प्रमुख प्रजापतिका अनुसार प्लास्टिकका सामग्रीले माटोका भाँडाको स्थान लिँदा परम्परागत पेसामा आबद्ध व्यक्तिको रोजगारी गुम्ने जोखिम बढेको छ। भक्तपुर सेरामिक्सका लागि महत्वपूर्ण क्षेत्र भएकाले परम्परागत कला र सीपलाई आधुनिकतासँग जोडेर संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ।

नेपाल सेरामिक्स आर्टिस्ट सोसाइटीका अध्यक्ष रमेश प्रधानले परम्परागत सेरामिक्स कलालाई आधुनिकतासँग जोड्ने, नयाँ कला विकास गर्ने र युवा कलाकारलाई सीप सिकाउँदै सिर्जनशीलतामा प्रेरित गर्ने उद्देश्य रहेको बताउनुभयो।

तर, परम्परागत पेसामा आबद्ध कुमालेहरू भने भविष्यप्रति चिन्तित छन्। कृष्णसुन्दर प्रजापतिले १३ वर्षको उमेरदेखि माटोका भाँडा बनाउँदै आए पनि आफ्ना सन्तानलाई यो पेसामा संलग्न गराउन नचाहेको बताउनुभयो। अर्का कुमाले लक्ष्मण प्रजापतिका अनुसार भक्तपुरमै बनेको पालाचा स्थानीयले कमै किन्ने गरेका छन्। काठमाडौं, ललितपुर, बनेपा र उपत्यकाबाहिरबाट भने पालाचा खरिद गर्न आउने गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *