तिहार लक्षित प्रहरीको विशेष सुरक्षा योजना लागू
काठमाडौँ, २० कात्तिक । तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।
चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्न तथा चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडालगायत आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । सार्वजनिक यातायात, मुख्य बजार, सीमानाका तथा भन्सार क्षेत्रमा निगरानी र चेकजाँच बढाइएको छ ।
प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले दियो, बत्ती तथा पटाकाबाट हुनसक्ने आगलागी र दुर्घटनालाई ध्यानमा राखेर दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको बताउनुभयो ।
प्रहरीले देउसी–भैलो स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । पटका तथा अन्य विस्फोटक पदार्थको अवैध ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका, भन्सार तथा बजारमा विशेष टोली परिचालन गरिएको छ ।
त्यस्तै, जुवातास र सट्टेबाजी नियन्त्रणका लागि सम्भावित क्षेत्रमा सादा पोसाकका प्रहरी खटाइएको छ । मादक पदार्थ सेवन गरी होहल्ला नगर्न, पटका नपड्काउन तथा शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन प्रहरीले सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।
चाडपर्वका र्याली, जुलुस तथा शोभायात्राका क्रममा हुनसक्ने विवाद र झडप रोक्न सुरक्षा व्यवस्था थप मजबुत बनाइएको प्रवक्ता काफ्लेले बताउनुभयो । राति अबेरसम्म चर्को आवाजमा डिजे बजाउने तथा आतिशबाजी गर्ने गतिविधिमाथि पनि निगरानी बढाइएको छ ।
प्रहरीले अनियन्त्रित मदिरा सेवन र जुवातासका कारण घरेलु हिंसा, कुटपिट तथा झैझगडाका घटना हुनसक्ने भन्दै यस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिएको जनाएको छ । सार्वजनिकस्थलमा पूजा सामग्री, फूलमाला तथा प्लास्टिकजन्य फोहोरको अव्यवस्थित विसर्जन रोक्न पनि सम्बन्धित पक्षसँग समन्वय भइरहेको छ ।
प्रहरीले नागरिकलाई सुरक्षित र मर्यादित रूपमा चाडपर्व मनाउन आग्रह गर्दै आगलागी, विस्फोट वा दुर्घटना भए तत्काल प्रहरी, दमकल वा सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरेको छ ।
