एनपीएलमा आज दुई खेल हुँदै, पोखरा–विराटनगर र कर्णाली–लुम्बिनी भिड्दै

काठमाडौं, २६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज बुधबार दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ।

प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ। पाँच खेल खेलेको विराटनगर दुई जित र तीन हारसहित अंकतालिकाको छैटौँ स्थानमा छ। यस्तै, पोखरा पाँच खेलमा चार हार र एक जितसहित आठौँ स्थानमा रहेको छ।

आजै अपराह्न ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। प्लेअफको सम्भावना जीवित राख्न कर्णालीलाई जित्नैपर्ने दबाब छ। पाँच खेलमा दुई जित र तीन हार व्यहोरेको कर्णाली सातौँ स्थानमा छ।

यता, लुम्बिनी भने प्लेअफको दौडमा बलियो अवस्थामा छ। पाँच खेलबाट तीन जित, एक हार र वर्षाका कारण एक अंक बाँडेको लुम्बिनी अंकतालिकाको तेस्रो स्थानमा छ।

एनपीएलको जारी संस्करणमा आठ टोली सहभागी छन्। प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *