मिठाई ठानेर बम खाँदा मध्यप्रदेशमा एक युवकको मृत्यु

एजेन्सी, २७ कात्तिक । परम्परागत भारतीय मिठाईजस्तो देखिने बारुद भरिएको पिठोको डल्लो मुखमा विस्फोट हुँदा मध्यप्रदेशमा एक युवकको मृत्यु भएको छ। प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार उपचारका क्रममा ३५ वर्षीय राजेन्द्र बरौतियाको मृत्यु भएको हो।

घटना मङ्गलबार डिन्डोरी जिल्लामा भएको थियो। आगो ताप्न भेला भएका बेला एक गाउँलेले ल्याएको ‘मिठाई’ अर्का व्यक्तिले बरौतियालाई दिएका थिए। मुखमा राखेलगत्तै उक्त वस्तु विस्फोट भएको प्रहरी अधिकारी रेखा सिंहले बताइन्।

स्थानीय केही समुदायले जङ्गली सुँगुर मार्न पटाका वा खानीबाट प्राप्त बारुद पिठोका डल्लामा भरेर घरेलु बम बनाउने गरेका छन्। चिनीको सिरपमा भिजाइने लोकप्रिय भारतीय मिठाई ‘रसगुल्ला’ जस्तै देखिने भएकाले ती डल्लासँग झुक्किने सम्भावना हुन्छ।

गम्भीर घाइते बरौतियालाई अस्पताल लगिए पनि बचाउन सकिएन। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी लापरबाहीका कारण ज्यान गएको अभियोग लगाइएको छ। घटना नियोजित हत्या थियो वा कसैले गरेको मजाकका क्रममा भएको दुर्घटना भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी अधिकारी सिंहले जनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *