घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको चाप : आवास पाउन मुस्किल

काठमाडौँ, कार्तिक २८ । तिहार र छठ पर्वको बिदासँगै पर्यटकीय गतिविधि बढेपछि कास्कीका प्रमुख पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो लागेको छ । आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यहाँका होटल तथा घरबास भरिभराउ भएका छन् भने अग्रिम बुकिङ नगरी पुग्ने पर्यटकलाई आवास व्यवस्थापन गर्न कठिन भएको छ ।

अन्नपूर्ण गाउँपालिका १० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको आगमन बढेको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरहेका छन् । पर्यटकको चापले होटलमा कोठा पाउन कठिन भएपछि समितिले अग्रिम बुकिङ गरेर मात्र भ्रमणमा आउन आग्रह गरेको छ ।

घान्द्रुक पुग्ने पर्यटकमध्ये अधिकांश आन्तरिक भए पनि भारतीय तथा अन्य मुलुकका पर्यटकको आगमनसमेत भइरहेको छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घान्द्रुक अन्नपूर्ण आधार शिविर र पुनहिल-घोरेपानी पदमार्गमा पर्ने भएकाले पदयात्रीको विश्रामस्थलका रूपमा समेत परिचित छ ।

अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनोरम दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति, ग्रामीण परिवेश र स्थानीय आतिथ्य यहाँका प्रमुख आकर्षण हुन् । सडक पहुँच विस्तारसँगै आन्तरिक पर्यटकको आगमन थप बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवस्थापन समितिका अनुसार गाउँमा रिसोर्टसहित ८० होटल र ३५ घरबास सञ्चालनमा छन् ।

मादी गाउँपालिका १ स्थित सिक्लेसमा पनि पर्यटकको चाप उल्लेख्य छ । पर्यटक सूचना केन्द्रका अनुसार तिहारको भोलिपल्ट मात्रै एक हजार तीन सय २४ जना पर्यटक सिक्लेस पुगेका थिए । एकैपटक ठूलो सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा कठिनाइ भएको स्थानीय व्यवसायीले बताएका छन् ।

नमस्ते गेस्ट हाउसका सञ्चालक झरना गुरुङका अनुसार होटल आइतबारसम्मका लागि बुकिङ भइसकेको छ । नयाँ पर्यटकलाई कोठा उपलब्ध गराउन समस्या भएपछि होटलको अवस्था बुझेर अग्रिम बुकिङ गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

हिमालको काखमा अवस्थित सिक्लेस प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति र परम्पराका लागि परिचित छ । ढुङ्गा र जस्ताका छाना भएका परम्परागत घर, ढुङ्गे आँगन, साँघुरा गल्ली तथा पुराना शैलीका झ्यालढोकाले गाउँको मौलिक पहिचान झल्काउँछन् । मादी खोला, हरियाली वनपाखा र हिमाली दृश्यले पर्यटकलाई आकर्षित गर्दै आएका छन् ।

गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, मौलिक भेषभूषा, नाचगान र स्थानीय परिकार यहाँका थप आकर्षण हुन् । सिक्लेस-कपुचे-कोरी पदमार्ग सञ्चालनमा आएपछि पदयात्राका लागि आउने पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीय व्यवसायी बताउँछन् । दुई दशकअघि सामुदायिक घरबासबाट सुरु भएको यहाँको पर्यटन व्यवसाय अहिले होटल तथा घरबासमा विस्तार भएको छ ।

पोखरा महानगरपालिकासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका ८ स्थित ल्वाङ गाउँमा पनि पर्यटकको आगमन बढेको छ । तिहारको भोलिपल्टदेखि होटल तथा घरबासमा पाहुना भरिएपछि व्यवस्थापनमा कठिनाइ भएको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मञ्जु गुरुङले बताउनुभयो ।

विसं २०६७ मा सात घरबाट सुरु भएको ल्वाङको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ । यहाँका घरबासमा एकै रातमा चार सयसम्म पाहुनालाई आवास उपलब्ध गराउन सकिने क्षमता छ । प्राकृतिक सौन्दर्य र गुरुङ संस्कृतिको अनुभव लिन चाहने पर्यटकका लागि ल्वाङ लोकप्रिय गन्तव्य बन्दै गएको छ ।

समुद्री सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको ल्वाङबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलामा देखिने सूर्योदयको दृश्य आकर्षक मानिन्छ । गाउँको सिरानमा एक हजार दुई सय रोपनी क्षेत्रफलमा फैलिएको चियाबारी यहाँको अर्को प्रमुख आकर्षण हो । चियाबारी, गुरुङ संस्कृति, रैथाने परिकार र स्थानीय जीवनशैलीको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् ।

ल्वाङमा पर्यटकले स्थानीय परिकार बनाउने तरिका, खेतीपाती तथा निगालोबाट डोको र सेखुजस्ता सामग्री बनाउने सीपबारे जानकारी लिन पाउँछन् । अन्नपूर्ण आधार शिविर र मर्दी पदमार्ग जाने पर्यटकले समेत यहाँ विश्राम गर्ने गरेका छन् । नजिकैको पोखरा क्यानोनिङ र घलेल गाउँले यस क्षेत्रको पर्यटकीय आकर्षण थप बढाएका छन् ।

पोखराबाट सडकमार्ग हुँदै सहजै पुग्न सकिने घान्द्रुक, सिक्लेस र ल्वाङमा प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा र घरबासको अनुभव लिन पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्व बिदाका कारण बढेको पर्यटक आगमनले स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाए पनि पर्यटकको चापअनुसार आवास तथा सेवा व्यवस्थापन गर्नु चुनौतीका रूपमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *