सामाजिक सुरक्षा प्रणाली सुदृढीकरणलाई नेपालको प्राथमिकता
काठमाडौँ, कात्तिक २८ । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण तथा सामाजिक-आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप) को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशितालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विकास प्रक्रियामा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुका साथै विकासको प्रतिफलमा उनीहरूको समान पहुँच स्थापित गर्नुपर्ने बताउनुभयो ।
शुक्रबार आयोजित अधिवेशनमा सदस्य मल्लले नेपालको नीतिगत सुधारका प्रमुख प्रयासबारे जानकारी गराउनुभएको थियो । उहाँले राष्ट्रिय रोजगार नीति र राष्ट्रिय औद्योगिक नीतिको पुनरावलोकनलगायतका विषयमा नेपालको प्राथमिकता र प्रयास प्रस्तुत गर्नुभएको ब्याङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।
