चेक गणतन्त्रमा सरकारविरुद्ध तीन लाख ५० हजार मानिसको प्रदर्शन, सञ्चारमाध्यमको स्वतन्त्रता रक्षा गर्न माग

एजेन्सी, ३० कात्तिक । सार्वजनिक रेडियो तथा टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले सार्वजनिक सञ्चारमाध्यमलाई उपलब्ध गराइने आर्थिक स्रोतको व्यवस्था परिवर्तन गर्न लागेको भन्दै प्रदर्शनकारीले त्यसले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका हुन् ।

सन् १९८९ को भेलभेट क्रान्तिको वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रागस्थित लेटना पार्कमा विशाल प्रदर्शन आयोजना गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले सरकारको प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका थिए । आन्दोलनका आयोजक मिकुलास मिनारले यो प्रदर्शन आन्दोलनको सुरुआत मात्र भएको बताउनुभएको छ ।

सरकारले हाल नागरिक तथा व्यवसायबाट नियमित रूपमा उठाइँदै आएको शुल्कको सट्टा सार्वजनिक रेडियो र टेलिभिजनलाई राज्यको बजेटबाट रकम उपलब्ध गराउने प्रस्ताव गरेको छ । तर, नयाँ व्यवस्थाअन्तर्गत सार्वजनिक सञ्चारमाध्यमको बजेट करिब १५ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

यसबाट कर्मचारी कटौती हुनुका साथै विभिन्न कार्यक्रम बन्द हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । आलोचकहरूले राज्यको बजेटमा निर्भर हुनुपर्ने व्यवस्थाले सार्वजनिक सञ्चारमाध्यममाथि सरकारको प्रभाव र नियन्त्रण बढाउन सक्ने चेतावनी दिएका छन् ।

विधेयक संसद्मा अघि बढाउने क्रममा विपक्षी सांसदहरूको बोल्ने समय सीमित गरिएको र बिहान ४ बजेर ३६ मिनेटमा मतदान गराइएको घटनाले पनि सरकारविरुद्धको आक्रोश थप चुलिएको छ ।

सरकारी योजनाको विरोधमा सार्वजनिक सञ्चारमाध्यमका कर्मचारीले हडतालसमेत गरेका छन् । श्रमिक सङ्गठन, विश्वविद्यालय, विद्यार्थी, कलाकार तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्बन्धी संस्थाहरूले पनि आन्दोलनप्रति समर्थन जनाएका छन् । यस विषयले युरोपेली संसद्मा समेत प्रवेश पाएको छ ।

प्रधानमन्त्री बाबिसले भने प्रस्तावित वित्तीय व्यवस्थाले सञ्चारमाध्यमको स्वतन्त्रतामा कुनै असर नपार्ने दाबी गर्नुभएको छ । उहाँले सरकारको योजना अघि बढाउने अडानसमेत दोहोर्‍याउनुभएको छ ।

प्रदर्शनकारीले सार्वजनिक सञ्चारमाध्यमको वित्तीय व्यवस्थाबाहेक सरकारको रक्षा नीतिको पनि विरोध गरेका छन् । उनीहरूले रुससमर्थक दलका नेता तथा सभामुख टोमियो ओकामुरा र रक्षामन्त्री जारोमिर जुनाको राजीनामा माग गरेका छन् ।

आन्दोलनका आयोजक मिनारले रुससमर्थक राजनीतिक दलहरूको प्रभाव बढ्दा चेक गणतन्त्रको राष्ट्रिय सुरक्षा र रक्षा क्षमता कमजोर हुन सक्ने चिन्ता व्यक्त गर्नुभएको छ । प्रदर्शनले सञ्चारमाध्यमको स्वतन्त्रता र राष्ट्रिय सुरक्षा दुवै विषयमा सरकारमाथि दबाब बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *