पर्यटन प्रवर्द्धनका लागि पाल्पामा दुईदिने ‘सम्पदा साइकलयात्रा’ सुरु

पाल्पा, ५ मङ्सिर । पाल्पाका ओझेलमा परेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले तानसेनबाट पूर्वी पाल्पाको रामपुरसम्मको दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा) २०८३’ सुरु भएको छ ।

पाल्पा साइकलिङ सङ्घको आयोजनामा शनिबार बिहान तानसेन दरबार परिसरबाट सुरु भएको यात्रामा विश्व साइकलयात्री एवं सगरमाथा आरोही पुष्कर शाहसहित मेचीदेखि महाकालीसम्मका २०० जना साइकलयात्री सहभागी छन् । सहभागीमध्ये दुई जना विदेशीसहित जिल्ला बाहिरका १५० र जिल्लाभित्रका ५० जना रहेका छन् । ११ महिला र १८९ पुरुष सहभागी यात्रामा १६ देखि ६१ वर्ष उमेर समूहका यात्रीहरूको सहभागिता रहेको सङ्घका महासचिव विज्ञान बज्राचार्यले जानकारी दिनुभयो ।

यात्राको पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले झण्डा फहराएर शुभारम्भ गर्नुभयो । सो अवसरमा सांसद रानाले पाल्पामा व्यावसायिक साइकलयात्राको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै पर्यटकीय पूर्वाधार निर्माण र प्रवर्द्धनमा सरकारले आवश्यक समन्वय गरिरहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष रुपेश महर्जनले पर्याप्त प्रचारप्रसारको अभावमा पछि परेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यात्रा आयोजना गरिएको बताउनुभयो । करिब रु १५ लाखको लागतमा सञ्चालन हुने यस यात्राका सहभागीलाई तानसेन दरबार परिसरमा टीका लगाएर बिदाइ गरिएको थियो ।

यात्राको मार्गतालिका सङ्घका सदस्य शान्तम थैवका अनुसार यात्राको पहिलो दिन शनिबार साइकलयात्रीहरू तानसेनको नारायण टोल, असन टोल, भगवती मन्दिर, आर्यभञ्ज्याङ, चिदिपानी, हुमिन तथा पूर्वखोला गाउँपालिकाका पर्यटकीय स्थलहरूको अवलोकन गर्दै निस्दी गाउँपालिकास्थित अमरिसो बगान (काउलेडाँडा) पुग्नेछन् । दोस्रो दिन आइतबार बिहान काउलेडाँडाको अवलोकनपछि कीर्तिपुर हुँदै रामपुर नगरपालिका पुगेर यात्रा समापन हुनेछ ।

सङ्घले यसअघि वि.सं. २०७९ मा तानसेन र पश्चिम पाल्पाका सम्पदालाई समेटेर पहिलो तथा २०८२ मा तानसेन दरबारदेखि रानीमहल दरबारसम्म दोस्रो संस्करणको ‘सम्पदा यात्रा’ सम्पन्न गरिसकेको छ । तेस्रो संस्करणमा भने पूर्वी पाल्पाका गन्तव्यलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *