दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि रु पाँच करोड बजेट माग

महेन्द्रनगर, ८ मङ्सिर । कञ्चनपुरको महाकाली नदीमाथिको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा रु पाँच करोड बजेट माग गरिएको छ ।

गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि हाल पुलमा आवागमन पूर्ण रूपमा ठप्प छ । भीमदत्त नगरपालिका र दोधारा चाँदनीलाई जोड्ने उक्त पुलको पुनर्निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजनले पूर्वाधार विकास मन्त्रालयसँग रु पाँच करोड बजेट माग गरेको हो ।

सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले भत्किएको पिल्लर वरपर अझै पनि पानीको बहाव रहेकाले माटो परीक्षणलगायतका प्राविधिक काम अघि बढाउन नसकिएको बताउनुभयो । “माटो परीक्षण गर्नुपर्ने भत्किएको पिल्लर वरपर अहिले पनि पानी बगिरहेकाले हामीले प्राविधिक खटाएर विस्तृत लागत प्रतिवेदन तयार पार्न सकेका छैनौँ,” उहाँले भन्नुभयो, “नदीमा पानीको सतह घटेपछि अन्य प्राविधिक काम सम्पन्न गरी ठेक्का प्रक्रियामा जानेछौँ ।”

यसअघि पुलमा पुगेको क्षतिको अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्यीय प्राविधिक टोली कञ्चनपुर पुगेको थियो । उक्त टोलीको प्रारम्भिक अनुमानअनुसार बाढीबाट पुलमा करिब रु सात करोड बराबरको क्षति पुगेको छ भने पुल पूर्ण रूपमा पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याउन करिब रु २० करोड लाग्ने देखिएको छ ।

प्राविधिक टोलीले ढलेको पिल्लरका अतिरिक्त त्यसको दायाँ–बायाँतर्फ रहेका थप दुईवटा पिल्लरसमेत कमजोर अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।

यसैबीच, पुल पुनर्निर्माणकै लागि सुदूरपश्चिम प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरिसकेको छ । महाकाली नदीमाथिको यो झोलुङ्गे पुल स्थानीय आवतजावतका साथै देशभरकै एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *