सक्षम स्थानीय तहबाटै जनताले संघीयताको वास्तविक अनुभूति गर्न पाउँछन् : अध्यक्ष ओली

काठमाडौं,४ मंसिर  । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई अधिकारसम्पन्न, सबल र सक्षम बनाउन सके मात्रै जनताले संघीयताको वास्तविक अनुभूति गर्न पाउने बताउनुभएको छ ।

पार्टीद्वारा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय सरकार बलियो भएमा विकास निर्माणका कामले गति लिनुका साथै जनताले राज्यको उपस्थितिको प्रत्यक्ष अनुभूति गर्न पाउने बताउनुभयो ।

उहाँले स्थानीय तहलाई सशक्त र सक्षम बनाउने अभियान एमालेले नै सुरु गरेको दाबी गर्दै यस सन्दर्भमा २०५१ सालको एमाले नेतृत्वको सरकारको योगदान स्मरण गर्नुपर्ने उल्लेख गर्नुभयो । त्यसबेला जनश्रमदानमार्फत गाउँगाउँमा सडक तथा नहर निर्माण गर्ने अभियान सुरु गरिएको उहाँको भनाइ थियो ।

‘स्थानीय तहको सबलीकरणको कुरा गर्दा एमालेको २०५१ सालको सरकारलाई भुल्नु हुँदैन । त्यतिबेला जनश्रमदानमार्फत गाउँगाउँमा सडक र नहर निर्माण गर्ने कामको थालनी एमालेले नै गरेको हो,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले स्थानीय तहलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिँदै कार्यकारी, विधायिकी तथा न्यायिक अधिकार प्रभावकारी रूपमा प्रदान गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारलाई पर्याप्त अधिकार र जिम्मेवारी दिएमा मात्रै विकास, सुशासन र सेवा प्रवाहलाई जनताको नजिक पुर्‍याउन सकिने उहाँको भनाइ थियो ।

‘स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार दिनुपर्दछ । सक्षम स्थानीय तहबाटै जनताले संघीयताको वास्तविक अनुभूति गर्न पाउँछन्,’ उहाँले भन्नुभयो ।

राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरू देशका सबै गाउँबस्तीमा पुगेर जनताका समस्या प्रत्यक्ष रूपमा सुन्न र समाधान गर्न सम्भव नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले स्थानीय जनप्रतिनिधिहरूलाई राज्यको प्रतिनिधिका रूपमा जनताको घरदैलोसम्म पुग्न आग्रह गर्नुभयो ।

स्थानीय जनप्रतिनिधिहरू जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूले नागरिकका आवश्यकता, समस्या र अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको धारणा थियो । स्थानीय सरकार जनतासँग सबैभन्दा नजिकको सरकार भएकाले यसको प्रभावकारिताले नै संघीय शासन व्यवस्थाको सफलतालाई समेत निर्धारण गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने, जनताको आवश्यकता अनुसार विकासका योजना अघि बढाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *