ओलीको आरोप : देशमा जंगली मात्र होइन, राक्षसी राज चलिरहेको छ

काठमाडौं, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै देशमा जंगली मात्र नभई ‘राक्षसी राज’ चलिरहेको आरोप लगाउनुभएको छ।

एमालेको नेसनल युथ भोलेन्टियर फोर्सको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूलाई विनाकारण १३ दिनसम्म थुनिएको दाबी गर्दै सरकारले कानुनी शासनको उपहास गरेको बताउनुभयो।

‘मलाई विनाकारण १३ दिनसम्म थुनेर सरकारले जंगली राज देखाएको छ। यो जंगली राज मात्र होइन, राक्षसी राज हो,’ उहाँले भन्नुभयो, ‘यदि सधैँ राक्षसी राज चलाउन खोजिन्छ भने नेपाली जनता र नेसनल युथ भोलेन्टियर फोर्स अब चुप लागेर बस्दैन।’

ओलीले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत आगजनी, तोडफोड तथा देशलाई क्षति पुर्‍याउने गतिविधि युवाको चाहना नभएको बताउनुभयो। नेपाल कुनै व्यक्तिको पैतृक सम्पत्ति नभई नेपाली जनताको त्याग र बलिदानबाट निर्माण भएको राष्ट्र भएको उहाँको भनाइ थियो।

वर्तमान सरकार हिंसा, तोडफोड र हत्याको पृष्ठभूमिबाट बनेको आरोप लगाउँदै ओलीले यसअघिको प्रधानमन्त्री नियुक्ति पनि असंवैधानिक ढंगले भएको दाबी गर्नुभयो। राज्यका संवैधानिक अंगलाई निष्क्रिय बनाइएको र त्यसविरुद्ध कुनै अंगले प्रतिवाद नगरेको उहाँले बताउनुभयो।

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे पनि ओलीले प्रश्न उठाउनुभयो। पानी खुवाउने नाममा विभिन्न रसायन मिसाएर खुवाइएको दाबी गर्दै उहाँले लुटपाट, आगजनी र तोडफोडलाई आन्दोलनको वास्तविक उद्देश्य मान्न नसकिने बताउनुभयो।

उहाँले आन्दोलनको सुरुआती चरणमा युवा तथा विद्यार्थीले शान्तिपूर्ण रूपमा आन्दोलन गरे पनि घर फर्किन आग्रह गरिएपछि तोडफोड, आगजनी र लुटपाटका घटना भएको दाबी गर्नुभयो। घटनाको छानबिन गर्न गठित आयोगमाथि समेत प्रश्न उठाउँदै ओलीले आयोगहरू अपराध ढाकछोप गर्नतर्फ लागेको आरोप लगाउनुभयो।

नेसनल युथ भोलेन्टियर फोर्स कठिन परिस्थितिमा जन्मिएको संगठन भएको उल्लेख गर्दै ओलीले यसको उद्देश्य राष्ट्रको रक्षा, सामाजिक सेवा, विकास निर्माण र युवाको सहभागिता बढाउनु रहेको बताउनुभयो। राष्ट्र निर्माण र संरक्षणका लागि संघर्ष आवश्यक पर्ने धारणा राख्दै उहाँले संगठनलाई राष्ट्र र नागरिकको सेवामा समर्पित हुन आग्रह गर्नुभयो।

‘बोझ बन्नका लागि होइन, परिवारको बोझ, समाजको बोझ र देशको बोझ हटाउन भोलेन्टियर फोर्स बनेको हो। जहाँ सही र सत्य मिचिन थाल्छ, त्यहाँ भोलेन्टियर फोर्स उभिन्छ,’ ओलीले भन्नुभयो।

भोलेन्टियर फोर्स देखावटी संगठन नभई व्यवहारमा काम गर्ने र परिवर्तनका लागि सक्रिय हुने संगठन भएको उहाँले बताउनुभयो। संगठनको उद्देश्य शान्ति स्थापना रहेको उल्लेख गर्दै ओलीले संगठनमाथि आक्रमण भए त्यसको सामना कसरी गर्ने भन्ने प्रश्नसमेत उठाउनुभयो।

एमालेले युवालाई गलत बाटोमा हिँडाउन नभई सही मार्गमा अघि बढाउन संगठनमा आबद्ध गराएको दाबी गर्दै उहाँले फोर्सको परिचालन समाजसेवा, शान्ति स्थापना र विकास निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो।

स्थापना दिवसका अवसरमा ओलीले नेसनल युथ भोलेन्टियर फोर्सलाई राष्ट्र, समाज र नागरिकको सेवामा समर्पित भएर काम गर्न आग्रह गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *