‘लैङ्गिक हिंसा अन्त्यको सुरुवात घरबाटै हुनुपर्छ’

काठमाडौँ, १० मङ्सिर । शिक्षित श्रीमान् र सम्पन्न परिवार देखेपछि उहाँले सुखद वैवाहिक जीवनको कल्पना गर्नुभएको थियो । आर्थिक रूपमा सबल परिवारमा आफूले कुनै विभेद भोग्नुनपर्ने उहाँको विश्वास थियो । तर, विवाह भएको एक वर्ष नबित्दै दाइजो नल्याएको निहुँमा श्रीमान्बाटै मानसिक यातना भोग्नुपरेको पीडा उहाँसँग छ ।

अधिवक्ता एवं महिला अधिकारकर्मी रसना ढकालसमक्ष घरेलु हिंसाको उजुरी लिएर आउने पीडितमध्येकी एक प्रतिनिधि पात्र हुनुहुन्छ उहाँ । ढकालका अनुसार यो हालैको घटना हो । “अहिले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ, तर समाजमा हिंसाका घटना झन् बढ्दो क्रममा छन्,” उहाँले भन्नुभयो ।

लैङ्गिक हिंसा घट्नुको साटो स्वरूप र प्रकृति फेरिँदै गएको ढकालको विश्लेषण छ । काठमाडौँजस्तो शिक्षित र सचेत मानिने सहरमा समेत घरेलु हिंसा डरलाग्दो रूपले बढिरहेको उहाँले बताउनुभयो । “सहर र घरको उचाइ हेरेर व्यक्तिको चेतना मापन गर्न सकिँदो रहेनछ,” उहाँले भन्नुभयो, “दाइजोका नाममा श्रीमान् र परिवारकै सदस्यबाट मानसिक यातना भोग्ने शिक्षित महिलाका मुद्दा प्रशस्त छन् ।” १६ दिने अभियानलाई औपचारिकतामा सीमित नराखी सबैले अपनत्व महसुस गर्ने गरी रचनात्मक ढङ्गले सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

शङ्खमूलकी झुमा (नाम परिवर्तन) पेसाले अधिकारकर्मी हुनुहुन्छ । अरूको अधिकारका लागि आवाज उठाउने संस्थामा कार्यरत उहाँ हिंसा सहनु हुँदैन भन्ने मान्यता राख्नुहुन्छ । तर, आफ्नै परिवारभित्र हिंसारहित वातावरण कायम गर्न निकै सङ्घर्ष गर्नुपरेको उहाँको तीतो अनुभव छ । “परिवारबाटै हिंसा हटाउन सकिएन भने नीति र कानुनले मात्र समाज रूपान्तरण सम्भव छैन,” उहाँले भन्नुभयो ।

तथ्याङ्कमा घरेलु हिंसाको भयावह चित्र

विभिन्न सरकारी निकायका तथ्याङ्कले पनि हिंसाको मुख्य जड परिवारभित्रै रहेको पुष्टि गर्छन् । राष्ट्रिय महिला आयोगमा चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज गरी तीन महिनामै घरेलु हिंसाका ६५ वटा उजुरी दर्ता भएका छन् ।

यस्तै, नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार लैङ्गिक हिंसाबाट महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित छन् । उक्त आर्थिक वर्षमा देशभर महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाका २१ हजार ६६७ वटा उजुरी दर्ता भएका थिए, जुन कुल अपराध मुद्दाको १० दशमलव ४ प्रतिशत हो ।

प्रहरीमा दर्ता भएका कुल उजुरीमध्ये करिब ८१ प्रतिशत अर्थात् १७ हजार ४९६ वटा घटना घरेलु हिंसासँग सम्बन्धित छन् । घरेलु हिंसाभित्र पनि मानसिक यातनाको हिस्सा सबैभन्दा बढी ५१ दशमलव ८६ प्रतिशत छ भने शारीरिक हिंसा ४० दशमलव ०८ प्रतिशत र आर्थिक हिंसा ७ दशमलव ९९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशगत रूपमा हेर्दा मधेस प्रदेशमा सबैभन्दा बढी छ हजार ९४३ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् । त्यसैगरी लुम्बिनीमा दुई हजार ८७५, बागमतीमा एक हजार ३८०, कोशीमा एक हजार ३५६, सुदूरपश्चिममा एक हजार १९४, कर्णालीमा ९९६ र गण्डकी प्रदेशमा ८५० वटा घटना अभिलेख भएका छन् ।

कानुन कार्यान्वयन र चेतनाको खाँचो

नेपालमा लैङ्गिक हिंसा नियन्त्रणका लागि घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, मुलुकी अपराध संहिता, २०७४, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१, बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ लगायतका कानुन कार्यान्वयनमा छन् ।

तर, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा कानुन मात्र पर्याप्त नहुने बताउनुहुन्छ । हिंसा न्यूनीकरणमा मात्र नभई निर्मूलनमै जोड दिनुपर्ने उहाँको धारणा छ । “हरेक वर्ष १६ दिने अभियान चले पनि हिंसा घट्न नसक्नुको मुख्य कारण घरपरिवार र नागरिक स्तरमा चेतनाको कमी हो,” उहाँले भन्नुभयो, “हिंसा घरबाटै सुरु हुन्छ । परिवारका सदस्यदेखि राज्य र न्यायिक निकायसम्म एकजुट नभएसम्म अभियानको सार्थकता रहँदैन ।” घरपरिवार र आफन्तबाटै लैङ्गिक हिंसालाई प्रश्रय मिलिरहेको उहाँको टिप्पणी छ ।

महिला मानव अधिकारको रक्षा र लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले सन् १९९१ देखि विश्वव्यापी रूपमा यो अभियान सुरु भएको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतनामूलक कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *